निर्वाचन आयोगद्वारा एनटीभीलाई गाडी हस्तान्तर

सुर्खेत । निर्वाचन आयोगले नेपाल टेलिभिजनलाई गाडी हस्तान्तरण गरेको छ । आयोगले निर्वाचनताका नेपाल टेलिभिजनले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याए वापत बा २ झ–२८४० नम्वरको टाटा पिकअप जेनुइन जीप आज सुर्खेत स्थित आयोगको प्रदेश निर्वाचन कार्यालयबाट हस्तान्तरण गरेको हो । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईले नेपाल टेलिभिजनका प्रमुख सवारी चालक भिमप्रसाद तिमिल्सिनालाई गाडी हस्तान्तरण गरेका छन् ।

गाडी हस्तान्तरण कार्यक्रममा नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख विजय वर्मालगायतको सहभागिता रहेको थियो । निर्वाचन आयोगले दिएको गाडीबाट नेपाल टेलिभिजन कर्णाली व्यूरो कार्यालयसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पुगेर समाचार संकलन तथा कार्यक्रम प्रसारणमा सहयोग पुग्ने अपेक्षा राखिएको एनटीभी कोहलपुर प्रसारण केन्द्र प्रमुख वर्माले बताए ।

यसैवीच कोहलपुर प्रसारण प्रमुख वर्मा नेतृत्वमा आएको टोलीले सुर्खेतमा स्थापना गर्न लागिएको कर्णाली व्यूरो कार्यालयको भवन मर्मत सम्भार तथा निर्माण कार्यको निरीक्षण समेत गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत परिसर भित्र भवन मर्मत तथा निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको पाईएको कोहलपुर प्रसारण प्रमुख वर्माले जनाए ।

उनले चालु आर्थिक वर्षको असार मसान्त अगाबै एनटीभी कर्णाली प्रदेश व्यूरो कार्यालय सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधारका सबै कार्यहरु अन्तिम चरणमा रहेको जानकारी दिए । सुर्खेतमा नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालय स्थापनापछि प्रदेशका विभिन्न विषयवस्तुको उठानसँगै समाचार संकलन, कार्यक्रम उत्पादन तथा प्रसारणलगायतमा सहजता पुग्ने विश्वास राखिएको छ ।

Translate »