२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

आज साउने सङ्क्रान्ति मनाइँदै, कर्णालीमा सार्वजनिक विदा



सुर्खेत । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ।

यसैवीच कर्णाली प्रदेश सरकारले साउन १ गते अर्थात आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

आज प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघसंस्थामा बिदा लागू हुने मन्त्रालयका उपसचिव एवम् प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । प्रदेश सरकारको २०७९ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार
Translate »