२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

अन्न भण्डारमा अझै सकिएन धान रोपाई



बाँके । पश्चिम् नेपालको अन्न भण्डारको रुपमा चिनिने बर्दियामा साउनको दोस्रो साता बित्दा पनि रोपाई सकिएको छैन । बर्दियामा यसबर्ष असार महिना भरी पानी परेन। जसका कारण धानको बीउ राख्नमै ढिलाइ भयो । कतिपय स्थानमा खडेरी जस्तै भएको छ।

जिल्लाको आठ पालिकामध्ये कर्णालीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा ९७ प्रतिशत धान रोपाई भएको छ । यस भेगमा कर्णाली नदीबाट बाह्रै महिना सिचाइ सुविधा भएपनि बर्सात नभएकाले असार भित्र सकिने रोपाई श्रावणको दोस्रो हप्तासम्म सकिएको छैन ।

जिल्लाका बाँकी छ पालिकाहरू ठाकुरबाबा मधुवन बारबर्दिया गुलरिया बासगढि र बढैयातालमा बबैइ सिचाई नहर भएपनी नहरमा प्राप्त पानी नहुँदा रोपाई गर्न सकिएको छैन ।

पानीको अभावका कारण धान सुक्न थालेका छन् भने कतै धान किराले खाएर मरेको बढैयायाल गाउँपालिकाका स्थानीय कृषकहरूको दु:खेसो छ ।

बर्दियाको सदरमुकाम गुलरियाका कतिपय क्षेत्रमा पनि अझै रोपाई हुन सकेको छैन । यहाँका कतिपय खेतहरूमा घाँस र झार पलाएका छन् भने धान रोप्ने खेतमा बाख्रा गाईभैसी चरिरहेका छन् । जसोतसो रोपेको धानपनी बर्सात नहुँदा गह्राहरु पटपटी फुटेको अवस्थामा देखिन्छन् । समयमा धान रोप्न नपाउँदा बर्दियाका किसानको दिनचर्या आकाश तिर हेरेरै बित्ने गरेको छ।

समयमा मल, पानी नपाउँदा धान रोपाई ढिलो भइसकेको हुँदा घरपरिवारको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले सताउन लागेको गुलरिया नगरपालिकाका स्थानीय कृषकहरू बताउँछन् ।

बर्दिया जिल्लामा पचास हजार दुई सय पचास हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हालसम्म ८६.२ प्रतिशत मात्र धान रोपाई भएको छ । साउनको तेस्रो सातासम्म जिल्लामा सम्पूर्ण खेतमा धान रोपाई हुनुपर्ने भएपनी कतिपय स्थानमा सम्भव देखिएको छैन ।

गतवर्ष अहिलेको समयमा करिब करिब धान रोपाई सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालको भनाई छ।

जीवन जिउने आधार नै कृषि पेशा भएको र अहिलेसम्म पनि सिचाई सुविधा नहुँदा रोपाई गर्न नसकिएको किसानको दुःखेसो छ । आकाशे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी–बर्बइ डाइभर्सन चाँडो सम्पन्न गरि सबैतिर सिँचाइ सुविधा पुर्‍याउनु पर्ने र कृषकका लागि आवश्यक मल,बीउको व्यवस्था समयमै गर्न पर्ने सरोकारवालाको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार
Translate »