२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

बाँकेबाट ९ महिनामा १२ करोडको अवैध सामान बरामद



बाँके । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेबाट रु १२ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले गएको साउनदेखि चैतसम्म भन्सार भन्सार छली गरेका तथा बिलबिजक बमोजिम नभएका १० करोड १० लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चालु आ।व।को नौ महिनामा २ करोड २९ हजार २१ रुपैयाँ बराबरको भन्सार छलीको सामान नेपाल प्रहरीले बरामद गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले खुला सीमाका कारण चोरी तस्करी बढेको जनाए । उनले आपराधिक गतिविधि नियन्त्रणका लागि भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार दैनिक १२ हजार ५ सय नेपालीहरू भारतको रूपैडिहा पुगेर औसत पाँच हजारको मालसामान खरिद गर्दा दैनिक ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको छ । त्यसबाट दैनिक १ करोड राजश्व छलीको सामान मुख्य नाकाबाटै बिना भन्सार भित्रिने गरेको अध्यक्ष धामीले बताउनुभयो ।

अध्यक्ष धामीले चोरी पैठारी र राजश्व छली रोक्न जमुनाह नाकाको पूर्व र पश्चिममा ५÷५ किलोमिटर तारबार गर्न र लामो दुरीको सिसि क्यामेराबाट अनुगमन गर्ने व्यवस्था मिलाउन सरकारसँग पटक–पटक माग गरे पनि सुनवाई नभएकोले तस्करी बढेको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ वैशाख ११ गते मंगलबार
Translate »