२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

लुम्बिनी प्रदेशका सांसद केसी जेल नै नबसी रिहा



रुकुम । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् ।

सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले जानकारी दिए ।

उनले सोमबार फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

रिजालले भने, ‘उहाँले कानुन अनुसार नै धरौटी बुझाएर छुट्नु भएको हो । ३६५ दिनमा एक दिन जेल बस्नुभयो । ३६४ दिनको १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा हुनु भएको हो ।’

आइतबार पूर्वी रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसीलाई कारागार पुर्‍याइएको थिएन ।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए । नागरिक न्यूज

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार
Translate »