सुर्खेतमा भोलीदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

सुर्खेत । चाडबाडमा आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना अघि सारेको छ । कतिपय स्थानमा बिहीबारबाट नै यस्ता पसलहरू सञ्चालनमा आइसकेका छन् भने सुर्खेतमा असोज ६ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रका अनुसार सुर्खेतको सुपथ मूल्य पसलमा चामल, तेल, ध्यु, गेडागुडीलगायतका उत्पादनहरु बिक्रीमा राखिने छन् । दाल, पीठो, चिउरा र चिनीलगायतका सामाग्रीका लागि केन्द्रीय कार्यालयसँग माग गरिएको उनको भनाइ छ ।

खाद्यले हरेक वर्ष सरकारले दशैं, तिहार, छठ जस्ता चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुहरूको अत्यधिक माग हुने हुँदा गुणस्तरीय वस्तु सहुलियत दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्व लक्षित यस्ता पसलमा उपभोक्ताले विभिन्न वस्तुमा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्मको छुट पाउँदै आएका छन् ।

Translate »