सुन्तला जातका फलफूल आयात गर्न चीनले थाल्यो तयारी


काठमाडौं । चीनले नेपालबाट सुन्तला जातका फलफूल आयात गर्ने तयारी थालेको सरकारले बताएको छ ।
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलफूल निर्यातका लागि सहमति भएको थियो ।

नेपालबाट जुनार र सुन्तला लैजान यतिबेला चीनले केरुङ नाकामा सुपरभिजन फेसिलिटीसहितको कोल्ड स्टोर निर्माण शुरू गरेको मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले बताइन् । उनका अनुसार चीनले पाली सुन्तला र जुनार लैजान खोजेको छ । त्यसका लागि चिनियाँ व्यवसायीको टोलीले पटकपटक नेपाली बगैंचाहरूको निरीक्षण गरिसकेको उनले बताइन् ।
चीनको प्रोटोकल पास भए आगामी वर्षदेखि चीनमा सुन्तलाजन्य फलफूल निर्यात हुने सम्भावना धेरै भएको शिवाकोटीको भनाइ छ । दुई देशबीचको सहमति कार्यान्वयन गर्न प्रोटोकलअनुसार नर्सरी दर्ता, बगैंचा दर्ता तथा व्यवस्थापनका कार्यक्रमहरू यसअघि नै सिन्धुली र स्याङ्जा जिल्लामा शुरू भइसकेको छ ।
सहसचिव शिवाकोटीका अनुसार नेपालको सुन्तलाजन्य वस्तुको उत्पादन र उत्पादकत्व आन्तरिक बजारको माग पुरा गरेर विदेशमा निर्यात गर्ने भइसकेको छ। यसअघि नेपालले भारत, बंगलादेशलगायत मुलुकमा सुन्तला निर्यात गर्ने गरेको शिवाकोटीको भनाई छ।

