२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । यो राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो ।

बुधबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले ०८१ पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार
Translate »