मानव बेचबिखन रोक्न सहकार्यमा जोड


बाँके । मानव बेचबिखन तथा ओसारपसारको सवाल अन्तर्राष्ट्रिय सरोकारको विषय बनेको भन्दै त्यसलाई रोक्न अन्तरदेशीय हातेमालो र सहकार्यमा जोड दिइएको छ ।
मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले आज नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखन विरुद्ध अन्तर्देशीय कार्यशाला गोष्ठीमा मानव बेचबिखनको बदलिँदो आयामले चुनौती थपिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

बाँके र सीमावर्ती भारतीय जिल्ला बहराइचका प्रशासन र सुरक्षा अधिकारी समेतको उपस्थितिमा गरिएको गोष्ठीमा भारतसँगको खुला सिमानाले बढाएको चुनौती र बदलिँदो परिवेशमा अपनाउनुपर्ने सजगताबारे छलफल गरिएको छ ।
औपचारिक नाकाबाट समेत अहिले पनि ठूलो सङ्ख्यामा जोखिमपूर्ण यात्रा भइरहेकोप्रति दुवै देशका अधिकारी र मानव बेचबिखनमा काम गर्ने सङ्घसंस्थाहरू गम्भीर बन्नुपर्नेमा पनि जोड दिइएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको तथा वैदेशिक रोजगारको नाममा बेचबिखन भइरहेको औंल्याइएको छ ।

