

सुर्खेत । ऐतिहासिक काँक्रेविहार मन्दिर परिसरमा पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।
नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष रहेको काँक्रेविहार मन्दिर परिसरमा आउने पर्यटकको बसाइ लम्ब्याउन कर्णाली प्रदेश सरकारले चाँसो लिएपछि पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यले गति लिएको हो ।
चार सय ५२ मिटर लम्वाई रहेको पदमार्ग अबको आठ दिनमा निर्माण सम्पन्न गर्नुपर्ने कार्यदेश निर्माण ठेकेदार कम्पनीले पाएको छ । त्यसमध्य काँक्रेविहार मन्दिरको दर्शन गर्न चाहनेहरुको सहजताका लागि छुट्टै ५० मिटरको अपाङ्गमैत्री ¥यालिङ निर्माण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका ईन्जिनियर रविन महतले जानकारी दिए ।
उनले ८० लाख रुपैयाँ लागत स्टमेट रहेको उक्त निर्माण कार्य घटेर श्रीकृष्ण निर्माण सेवा सुर्खेतले ४८ लाख मै स्वीकार गरेको बताए । उनका अनुसार हालसम्म निर्माण कम्पनीले ११ लाख रुपैयाँ मात्र पेश्की लिएको छ । ‘धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्र मानव जीवनको महत्वपूर्ण पाटो मानिन्छ ।


मानव सभ्यतासँग जोडिएका यी सम्पदा संरक्षणमा डिभिजन वन कार्यालय सुर्खेत जुटेको छ,’ डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले भने, ‘यहाँका धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको संरक्षणले मानव सभ्यतालाई जीवन्त बनाउँछ ।’
उनले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत चालु आर्थिक वर्ष २०८१/८२ को धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षणका लागि विनियोजित बजेटबाट निर्माण गरिएका आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको जनाए ।
‘काँक्रेविहार मन्दिर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक स्थल हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सरकारले मन्दिर परिसरमा पदमार्ग तथा विश्राम स्थल निर्माण गर्न लागेको छ ।’ काँक्रेविहार मन्दिरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा अवस्थित काँक्रेविहारमा प्राकृतिक सुन्दरता बोकेकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ । काँक्रेविहारमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहारहरुको भग्नावशेष भेटिएकाले यसको महत्व थप बढेको हो ।
नेपालको सबैभन्दा ठुलो प्राचीन सभ्यताको भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार काँक्रेविहारमै रहेको छ ।











