काँक्रेविहार पदमार्ग निर्माण


प्रमुख पर्यटकीय स्थल काँक्रेविहार मन्दिर आउने पर्यटकको सहजताका लागि डिभिजन वन कार्यालयले पदमार्ग तथा विश्राम स्थल निर्माणलाई तीव्रता दिएको छ । यो पर्यटकको सहजताका लागि मात्र नभई काँक्रेविहार सौन्र्दयतामा समेत टेवा पुगेको देखिन्छ । वन कार्यालयले पर्यटन विकाससँगै पदमार्गको योजना ल्याइएको हो । पूर्वाधार निर्माणसँगै प्रचार–प्रसारको योजना बनाइएपछि पर्यटक बढ्नुका साथै राजश्वमा समेत बृद्धि हुने नै भयो । प्रदेश सरकारले कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेपछि काँक्रेविहार जस्तै पर्यटन प्रवद्र्धनका थुप्रै योजना अघि बढाईएका छन् । सरकारले आउँदो वर्षको बजेटमा समेत कार्यान्वयन गर्नेगरी सुर्खेतका दर्जन बढी योजना ल्याउनु पर्यटन क्षेत्रका लागि सुखद समाचार हो । अब ऐतिहासिक काँक्रेविहार मन्दिरको सुन्दरता त बढउन निर्माण पक्षले ६० प्रतिशत भौतिक प्रगति छ । चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्न सके पर्यटकको थप चहलपहल बढ्ने निश्चित छ । प्राचीन सभ्यताको भग्नावशेष रहेको काँक्रेविहार मन्दिर परिसरमा आउने पर्यटकको बसाइ लम्ब्याउन थप भौतिक निर्माणका कामहरु गर्न बाँकी नै छ ।

कर्णाली प्रदेश सरकारले चाँसो लिएपछि पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यले गति लिएपनि पूर्वाधार निर्माणलाई निरन्तरता दिनु पर्छ । चार सय ५२ मिटर लम्वाई रहेको पदमार्ग बाँकी काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने कार्यदेश निर्माण ठेकेदार कम्पनीले पाएपनि वर्षातले गुणस्तरमा प्रतिकुल प्रभाव पार्ने जोखिम उत्तिकै छ । त्यसमध्य काँक्रेविहार मन्दिरको दर्शन गर्न चाहनेहरुको सहजताका लागि छुट्टै ५० मिटरको अपाङ्गमैत्री ¥यालिङ निर्माण गरिएको छ, जुन समावेशी सिद्धान्तमा आधारित देखिन्छ । ८० लाख रुपैयाँ लागत स्टमेट रहेको उक्त निर्माण कार्य घटेर श्रीकृष्ण निर्माण सेवा सुर्खेतले ४८ लाख मै स्वीकार गरेपछि गुणस्तरमा शंका उत्पन्न हुनु स्वाभाविकै हो । किनभने निर्माण व्यवसायीहरु वीचको अस्वस्थ्य प्रतिस्पर्धाले कहिलेकाही नियमनकारी निकाय र सम्बन्धित पक्षलाई भ्रमित पार्न सक्छ । त्यसबाट गुणस्तरहिन निर्माणले राम्रो भन्दा नराम्रो संदेश जान सक्छ । त्यता सम्बन्धित पक्षको ध्यान पुग्न जरुरी हुन्छ । त्यसैमा हालसम्म निर्माण कम्पनीले ११ लाख रुपैयाँ मात्र पेश्की लिएको छ । गुणस्तरमा कुनैपनि प्रकारको सम्झौता नहुने गरी निर्माणलाई पूर्णता दिनु पर्छ । हाल काँक्रेविहार मन्दिरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा अवस्थित काँक्रेविहारमा प्राकृतिक सुन्दरता बोकेकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ । काँक्रेविहारमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहारहरुको भग्नावशेष भेटिएकाले यसको छुट्टै महत्व रहेको छ । नेपालको सबैभन्दा ठुलो प्राचीन सभ्यताको भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार काँक्रेविहारमै रहेको छ । त्यसैले काँक्रेविहार क्षेत्रमा निर्माण गरिने पूर्वाधार कार्यहहरु गुणस्तरसँगै नाम अनुसार ऐतिहासिक बनाउने गरी योजना बुनिनु पर्दछ । कमसल र गुणस्तरहिन पूर्वाधार निर्माणले राज्य सम्पत्तिको दुरुपयोगसँगै सेवाग्राहीले अनाहकमा जोखिम मोल्नुपर्ने हुनसक्छ । त्यसैले समय पूर्व नै काँक्रेविहार जस्ता पूर्वाधार निर्माणलाई हल्का तरिकाले नलिई विशिष्ट रुपले बुझ्न र त्यस अनुरुपको कार्य गरिएनु पर्छ । अझैपनि काँक्रेविहार क्षेत्रको पूर्वाधार निर्माणमा सबै पक्षको चाँसो र चिन्ता बनाई राख्न जरुरी देखिन्छ । किनभने बहुआयामी काँक्रेविहारको महत्वलाई देशमा मात्र होइन, संसारभरी फैलाउन आ–आफ्नो तर्फबाट सबै पक्षको पहल कदमी अपरिहार्य बन्दै गईरहेको छ ।

