सुर्खेतमा चाईनिज पेस्तोलसहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले चाईनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेकाका साथबाट अन्य हातहतियार र लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । उनीहरु कालिङचोकको कृष्णमन्दिर नजिकै घरबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षका विधान शाही र २२ वर्षका आदित्य घिमिरे रहेका छन् । उनीहरूको साथबाट १ थान सेमी अटोमेटिक टाइप ७७ चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने म्यागजिन २ थान, १२ राउन्ड गोली, ४ थान खुकुरी, २ थान चक्कु, १ थान बन्चरो, १ सय ४६ पत्ता ट्रमाडोल र नाइट्राजेपाम १४ सय २६ ट्याब्लेट, जरायोको सिंह १ थान बरामद गरिएको प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

सुर्खेत प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीका अनुसार पक्राउ परेका विधान शाहीविरुद्ध २०७८ भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनीहरुविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Translate »