सुर्खेतमा सदावहार तथा सौन्दर्यमूलक वृक्षारोपण अभियान जारी


वीरेन्द्रनगर । डिभिजन वन कार्यालय सुर्खेतले सदावहार तथा सौन्दर्यमूलक वृक्षारोपण अभियान जारी राखेको छ ।
विभिन्न सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा शनिवार वीरेन्द्रनगरको लाटिकोइली स्थित ऐतिहासिक काँक्रेविहार जाने सडकको डिभाइडरमा वृक्षारोपण गरेको हो ।
वन कार्यालयले सगरमाथा वृक्षारोपण महाअभियानको २३ औं दिन वीरेन्द्रनगर–९, स्थित काँक्रेबिहार मन्दिरको प्रवेशद्वार मंगलगढी चौकदेखि शिवमन्दिरसम्मको सडक डिभाइडरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय प्रमुख बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।


उनले छतिवन, कल्किफुल, स्वामी, कल्किफुल, पारिजात, धुपी लगायतका सदावहार र सौन्दर्यमूलक प्रजातिका विरुवाहरु संरक्षणको सुनिश्चितता सहितको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिईएको बताए ।
वृक्षारोपण अभियानमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, प्रदेश वन निर्देशक गणेश त्रिपाठी, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरु, टोल विकास संस्थाका स्थानीयबासीहरु र हरित कर्मचारीहरूको उपस्थिति सहभागिता रहेको थियो ।


