सुर्खेतका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहसँगै कर्मचारी पुरस्कृत

वीरेन्द्रनगर । सुर्खेतका क्रियाशील उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले गएको आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने वन समूहतर्फ रामजानकी सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर नगरपालिका–५ प्रथम, लामपोखरी सामुदायिक वन उपभोक्ता समूह गुर्भाकोट नगरपालिका–१३ द्वितीय तथा औल्झायमा सामुदायिक वन उपभोक्ता समूह सिम्ता गाउँपालिका–३ तृतीय भएका छन् ।

पुरस्कृत हुने वन समूहका पदाधिकारीहरुलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी गएको आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत सुनिलकमल कँडेल, फरेष्टर इच्छाबहादुर भण्डारी, वन रक्षक डम्मरबहादुर गाहा र चौकीदार जंगबहादुर बुढालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो ।

उत्कृष्ट वन समूह र कर्मचारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी, नेपाल वन प्राविधिक संघ कर्णाली प्रदेश अध्यक्ष शेरबहादुर परियार, सचिव रोजिना श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुखहरु कल्पना खत्री, र दिपेश केसी, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक रेणुका न्यौपानेले अबिर, खादासँगै सम्मानपत्रले सम्मान गरेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले अरुलाई सामान्य जस्तै देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेका कर्मचारी तथा वन उपभोक्ता समूहलाई भने यस्ता प्रकारका प्रोत्साहन तथा सम्मानले थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

उनले सुशासन सहितको दिगो वन व्यवस्थापन मार्फत वन क्षेत्रको उत्पादकत्व तथा वन पैदावार बृद्धिमा वन समूहसँगै वन कर्मचारीको सामूहिक सहकार्य तथा समन्वय अपरिहार्य रहेको औल्याए ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठले नियमितरुपमा हुँदै आइरहेको कार्यक्रमअन्तर्गत यसवर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जङ्गल क्षेत्र र वन्यजन्तु जनावरण तथा पशुपंक्षीहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

उनले सामाजिक न्याय, सुशासन सहितको दिगो वन व्यवस्थापन मार्फत वन क्षेत्रको उत्पादकत्व तथा वन पैदावारको उत्पादनमा बृद्धि गरी ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को अपेक्षा पुरा गर्न वन कार्यालय निरन्तर जुटेको जनाए । डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको कार्यक्षेत्र भित्र २ सय ७२ वटा सामुदायक वन रहेका छन् ।

Translate »