तोकिएकै समय सीमा भित्र बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठीका सहभागिलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको औल्याए ।

हामीले विगतमा के–कस्ता कमजोरी गरेका थियौं, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउँदै उनले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्यक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्नेमा पनि जोड दिए ।

योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरुको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई उनले निर्देशन दिए । जनताको आवश्यकता बुझेर योजना बनाउन सके मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने उनको भनाइ थियो ।

उनले संघीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरु बीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकास जनताले अनुभुति गर्ने जनाए । कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

Translate »