कृत्रिम सूर्य बनाउन चीनको ठूलो फड्को

पृथ्वीमै सूर्यको शक्ति झिकेर प्रयोग गर्ने लक्ष्यसहित विश्वभर वैज्ञानिकहरूले फ्युजन ऊर्जाको खोजीमा निरन्तर प्रयत्न गरिरहेका छन् । चीनको कृत्रिम सूर्य भनिने एक्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ तकमाका (इस्ट) ले १०६६ सेकेन्डसम्म सुपरहिटेड प्लाज्मालाई स्थिर राख्न सफल हुँदै फ्युजन प्रविधिमा ऐतिहासिक प्रगति गरेको छ । यो कीर्तिमानले न केवल चीनको वैज्ञानिक क्षमतालाई देखाउँछ यसले स्वच्छ र असीम ऊर्जा भविष्यतर्फ मानिस नजिक पुगेको संकेत पनि दिन्छ ।

फ्युजन पावरको सिमाना विस्तार

फ्युजन ऊर्जाको आकर्षण यसको असीम स्रोत र स्वच्छता हो । परम्परागत आणविक ऊर्जामा जस्तो विकिरण र प्रदूषण हुने खतरा नभई फ्युजनमा परमाणुहरूको फ्युजन गरेर ऊर्जा उत्पादन गरिन्छ जसरी सूर्य आफैले शक्ति उत्पादन गर्छ । यस प्रक्रियाबाट न त कार्बन उत्सर्जन हुन्छ न त दीर्घकालीन परमाणु फोहोर उत्पादन नै हुन्छ । तर, यो प्रविधिलाई पृथ्वीमा व्यवहारमा ल्याउन भने अनेकौं प्राविधिक चुनौती पार गर्नुपर्छ ।

इस्टले ती चुनौतीलाई पछाडि पार्दै इतिहास रच्यो । प्लाज्मा अत्यधिक तापक्रमको आवेशित ग्यास अवस्थालाई १८ करोड फरेनहाइट तापक्रमसम्म पु¥याउनुपर्छ जुन सूर्यको केन्द्रको तापक्रमभन्दा पनि तातो हो । यति तीव्र तापक्रम कायम राख्दै प्लाज्मालाई स्थिर राख्नु एकदमै कठिन कार्य हो । इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सको नेतृत्वमा इस्टले यो कार्य सफलतापूर्वक सम्पन्न गरेर भविष्यको निरन्तर ऊर्जा उत्पादनको सम्भावना बलियो बनाएको छ ।

इस्टको सफलताको केन्द्रमा यसको अत्याधुनिक हिटिङ प्रणाली छ, जसको क्षमता लगभग ७० हजार घरेलु माइक्रोवेभ ओभनहरूको ऊर्जा उत्पादन बराबर छ । नयाँ नियन्त्रण प्रणालीसँगको संयोजनले प्लाज्मालाई लामो समयसम्म स्थिर राख्न सकिने बनाएको छ ।

विश्वव्यापी सहकार्यको परिणाम

इस्टको यो कीर्तिमानी उपलब्धि चीनको राष्ट्रव्यापी सफलता भए पनि यो विश्वभरको फ्युजन अनुसन्धानका लागि ठूलो योगदान हो । चीन इन्टरनेशनल थर्मोकन्डक्टर एक्स्पेरिमेन्टल रियाक्टर (आईटीईआर) परियोजनाको महत्त्वपूर्ण सदस्य हो । यो परियोजना फ्रान्सको दक्षिण भागमा निर्माणाधीन छ र विश्वकै सबैभन्दा ठूलो फ्युजन परीक्षण रिएक्टर बन्ने लक्ष्य राखिएको छ ।

चीनले आईटीईआरको निर्माण र सञ्चालनमा लगभग ९ प्रतिशत योगदान दिएको छ । इस्टबाट प्राप्त तथ्याङ्कहरूले आईटीईआर मात्र होइन, चीनकै अर्को महत्त्वाकांक्षी योजना चाइना फ्युजन इन्जिनीयरिङ टेस्ट रियाक्टरलाई समेत सघाउनेछन् । यो रियाक्टरको पहिलो चरणले २०० मेगावाट फ्युजन ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ, जबकि दोस्रो चरणमा १ गिगावाटभन्दा बढी शक्ति उत्पादन गर्ने योजना छ ।

इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका निर्देशक सोङ यान्ताओका अनुसार इस्टबाट अझ अन्तरराष्ट्रिय सहकार्य विस्तार गरेर व्यावहारिक फ्युजन ऊर्जा उत्पादनतर्फ जान सकिनेछ । यी पहलहरूले भविष्यका फ्युजन प्लान्टहरूलाई आधार प्रदान गर्दै छन्, जसले ऊर्जा प्रणालीमै क्रान्ति ल्याउने सम्भावना राख्छ ।

प्रविधिगत नवप्रवर्तनले खोलेको बाटो

फ्युजन प्रविधिको प्रगति सतत प्रविधिगत नवप्रवर्तनमा निर्भर छ । इस्ट सन् २००६ मा शुरू भएदेखि नै प्रविधि परीक्षणको प्रयोगशालाको रूपमा विकसित हुँदै आएको छ । पछिल्लो विश्व कीर्तिमान पनि सोचपूर्वक गरिएका इन्जिनीयरिङ सुधारका कारण सम्भव भएको हो, विशेष गरी हिटिङ र नियन्त्रण प्रणालीमा ।

इस्टका फिजिक्स प्रमुख गोङ हान्जुका अनुसार पछिल्लो सुधारले उपकरणको हिटिङ क्षमता दोब्बर बनाइएको छ । यसले प्लाज्मा स्थायित्व र उच्च ताप कायम राख्न मद्दत गरेको हो, जुन दीर्घकालीन फ्युजन रिएक्टर विकासका लागि अत्यावश्यक छ ।

हाल हफेईमा निर्माणाधीन नयाँ प्रयोगशालाहरूले इस्टको उपलब्धिमा आधारित थप अनुसन्धान गर्नेछन् । यी संरचनाले भविष्यका पावर प्लान्टहरूमा आवश्यक प्रविधिहरू परीक्षण गर्न सहयोग पु¥याउनेछन् ।

फ्युजनबाट ऊर्जा सुनिश्चित भविष्यको सपना

यी उपलब्धि वैज्ञानिक समुदायबाहिर पनि ठूलो महत्त्व राख्छन् । फ्युजन ऊर्जा मानवजातिको धेरै ऊर्जासम्बन्धी समस्याहरू समाधान गर्न सक्ने खालको ऊर्जास्रोत हो । असीम ऊर्जा उत्पादन, हरितगृह ग्यास उत्सर्जन र न्यून विकिरण फोहोरका कारण यो जलवायु परिवर्तन विरुद्धको लडाइँमा पनि अत्यन्तै प्रभावकारी विकल्प बन्न सक्छ ।

इस्टको कीर्तिमानी परीक्षणले हामीलाई फ्युजन शक्ति यथार्थमा बदल्न अझ नजिक पु¥याएको छ । ताराहरूले उत्पादन गर्ने जस्तै ऊर्जा अब हाम्रो हातमा पुग्न सक्ने सम्भावना वास्तविक बन्न थालेको छ । अनुसन्धान अझै जारी छ र भविष्यमा थप कीर्तिमानहरू बनाउँदै जाने अपेक्षा गरिएको छ ।

नयाँ ऊर्जा युगको मोडमा हामी

आज हामी एक नयाँ ऊर्जा युगको मोडमा उभिएका छौं । अब प्रश्न उठ्छ, हामी कहिले फ्युजनद्वारा सञ्चालित विश्वमा रूपान्तरण गर्न सक्छौं ? र, यो सफलताको प्रयोगमा ल्याउन हामीले के के कदम चाल्नुपर्नेछ ? इस्टको सफलताले देखाएको छ, यदि विज्ञान, नवप्रवर्तन र अन्तरराष्ट्रिय सहकार्यलाई एकैसाथ अघि बढाउन सकियो भने स्वच्छ, सुरक्षित र असीमित ऊर्जा अब सपना मात्र होइन, हाम्रो नजिकको यथार्थ बन्न सक्छ । आर्थिक अभियान/स्टेनेबिलटी टाइम्सबाट

Translate »