पत्रकारको सुरक्षा सुनिश्चितता गर्नु राज्यको दायित्व हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा सुनिश्चितता गर्नु राज्यको विशेष दायित्व भएको बताएका छन् ।

आज कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बीमा पेलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेशा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताए ।

व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवद्र्धन तथा प्रोत्साहनमा राज्यले विशेष ध्यान दिने उनको भनाइ थियो ।

उनले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत एवं संरचनागत सुधारमा समेत प्रदेश सरकार जुटिरहेको बताए । प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

उनले स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता परा हुने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६ सय ९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गरेको छ । यो कार्यक्रम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत निशुल्करुपमा सञ्चालन गरिएको हो ।

स्वास्थ्य बीमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बीमा अनुसार पत्रकारहरुले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार सेवा लिन सक्नेछन् । कुल बीमा खर्च करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

बीमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । महासंघ प्रतिनिधिहरुले प्रदेश सरकारले सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदमको रुपमा लिएको बताएका छन् ।

Translate »