२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

कर्मचारीलाई मुख्यमन्त्री कँडेलको निर्देशन : हिजोको धङधङ्गीबाट मुक्त हुनुहोस्



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हिजैकै धङधङ्गीबाट मुक्त भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

कर्मचारीतन्त्रमा अझैपनि परम्परागत शैली कायमै रहेको भन्दै मुख्यमन्त्री कँडेलले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने बताए । आफूले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले मन्त्रालय सेवाग्राहीलाई दुःख दिने अड्डा नभएको विषयमा स्पष्ट हुन निर्देशन दिए ।

उनले भने, ‘मन्त्रालय भनेको यो कसैलाई दुःख दिने होइन, सेवाग्राहीलाई सहजीकरण गर्ने अड्डा हो भन्ने विषयमा कर्मचारी साथीहरु स्पष्ट हुनुपर्छ ।’ मन्त्रीले नीतिगत विषयमा मात्र सहजीकरण तर सेवाग्राहीसँग जोडिएका दैनिक विषय कर्मचारीबाटै सम्पादन हुने हुँदा सेवाग्राहीलाई गुनासोरहित सेवा दिने विषयमा कर्मचारी नै बढी जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवक हुँ भन्ने धारणा कर्मचारीमा विकास हुनुपर्नेमा जोड दिए । उनले भने, ‘यहाँ जिम्मेवारी सम्हालेपछि तपाई जस्तै म पनि सेवक हुँ, शासक होइन भन्ने विषयमा मैले हेक्का राखेको छु, तपाईहरुबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछु ।’

नागरिकले सरकारका निकायबाट नयाँ ढंगले कार्यसम्पादन खोजिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले अब पद र ओहोदा होइन कार्यसम्पादन र नैतिकताले मात्र नेतृत्व गर्न सकिने बताए । उनले भने, ‘मन्त्री र सचिव पद मात्र हुन, कार्यसम्पादन र नैतिकता भएन भने पदले मात्र हुर्दैन ।’

मन्त्रालयको कार्यसम्पादन गर्दा कतिपय कर्मचारीले जिम्मेवारी पन्छाउने काम भएको सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले जिम्मा लिइसकेपछि नियम कानूनले मिल्ने काम पन्छाउने कर्मचारीले बेलैमा आफनो कार्यसम्पादनबारे पुनरावलोकन गर्न निर्देशन दिए ।

उनले भने, ‘तपाईहरुलाई सेवाग्राहीका कामलाई नियमसंगत तरिकाले सम्पादन गर्न खटाएको हो, काम रोक्न होइन, काम गर्न सक्नुहुन्न भने आफनो भूमिकाबारे अहिलेनै सोच्नुहोस, काम अल्मल्याएर सेवाग्राहीलाई दुःख दिन पाउनुहुन्न ।’

समिक्षा कार्यक्रममा मन्त्रालयका सचिव डा. पुष्पराज शाहीले मन्त्रालय यस वर्ष नागरिक घर बीमा, पत्रकार स्वास्थ्य बीमा, विपद् पीडितको लागि राहत जस्ता कार्यक्रम सञ्चालन गरेको बताए । उनले मन्त्रालयको कूल प्रगति ७१ प्रतिशत रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार
Translate »