वर्षाले जनजीवन प्रभावित : प्रदेशका केही स्थानमा सडक अवरुद्ध

सुर्खेत । हिजो बेलुकादेखि नै सुर्खेतसहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । कतिपय ठाउँमा वर्षाका कारण सडक अवरुद्ध छ भने कतै नदीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।

भेरी र कर्णाली नदी किनार आसपासका क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन सचेत गराउनुका साथै जोखिमयुक्त ठाउँहरुमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । अविरल वर्षाका कारण कर्णाली प्रदेश राजधानी सुर्खेतको ग्रामीण जनजीवन प्रभावित बनेको छ ।

जिल्लाका अधिकांस ग्रामीण कच्च सडक हिलाम्मे र खाल्टाखुल्टी परेका कारण जोखिमयुक्त बनेका हुन् । पहिरोका कारण कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक पुनः अवरुद्ध भएको छ । मंगलबार दिउँसोदेखिको अविरल वर्षाले कालिकोट खण्डअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

सोमबार बेलुकी गएको पहिरो मंगलबार बिहान सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा मेसिन प्रयोग गरेर बिहान ९ बजे सुचारु गरेपनि दिउँसो २ बजेदेखि लेदो सहितको अर्को पहिरो खस्दा पुनः अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार सुर्खेततर्फबाट आएका गाडी दैखोला र दैलेखको खिडकीज्युलामा रोकिएका छन् भने जुम्लाबाट आएका मालवाहक गाडी हुल्ममा रोकिएका छन् । वर्षासँगै खसेको पहिरोले कोहलपुर–सुर्खेत रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–२, पैसठ्ठी भन्ने स्थानमा सडकमाथिबाट ढुङ्गा अवरुद्ध सडक प्रहरीको सक्रियामा खुलाईएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर गुरुङको कमान्डमा ७ जनाको टोलीले जेसीबीको सहायताले पहिरो पन्छाउने काम गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाले बताए ।

उनका अनुसार अविरल वर्षाकै कारण गुर्भाकोट नगरपालिका–१, काल्चे घुमाउनेमा एक घर भत्किएको छ । स्थानीय ३२ वर्षीया दालमाया बुढाको तीन तले कच्ची घरको पूर्वपट्टिको भित्ता भत्किएको हो । ढुंगा र माटोले बनेको जस्तापाताले छाएको उक्त पाँच कोठे घर भत्किँदा कुनै मानवीय क्षति नभएको डीएपपी बुढ्थापाले बताए ।

सल्यानखण्डको राप्ती राजमार्ग अवरुद्ध

उता निरन्तरको वर्षासँगै पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीले राप्ती राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाएका छन् । पहिरोले सडक जोखिमयुक्त भएको भन्दै सल्यान रुकुम यातायात प्रालि र त्रि–शिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सवारी साधन सञ्चालन पूर्णरुपमा बन्द गरेका हुन् ।

सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका लागि सञ्चालित दिवा तथा रात्रि कालिन बस, इभि, फोर्स सेवा मङ्गलवारका लागि पूर्णरुपले बन्द गरिएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुर दाङले जनाएको छ ।

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोलामा सडक माथिबाट पहिरो झरी सडक अवरुद्ध हुँदा आज एक दिनका लागि सम्पूर्ण यातायातका साधन बन्द गरिएको सल्यान रुकुम यातायात प्रालि श्रीनगर सल्यानका अध्यक्ष अरविन्दकुमार राईले जानकारी दिए ।

कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झरिरहँदा सडक खुल्ने र बन्द हुने हुँदै आइरहेको छ ।

मुगुमा ९ घर भत्किए

छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँमा वर्षातका कारण घर भत्किँदा ९ घर परिवार आवासविहीन भएका छन् । अविरल वर्षातका कारण छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिकरुपले क्षति हुँदा ९ घर परिवार घरविहीन भइ छिमेकीहरुको घरमा बस्न बाध्य भएका हुन् ।

घर भत्किँदा मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्न, भाँडाकुँडालगायत अन्य उपभोग्य सामग्री र धनमाल सबै नष्ट भएको पीडितले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चारवटा घर पूर्ण रूपले क्षति भएका र सँगै जोडिएका अन्य घरहरु आंशिक क्षति भएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले स्थानीय तह राहत कार्यविधि २०८१ अनुसार पालिकाले तत्काल राहत उपलब्ध गराइ जिल्ला विपद् व्यवस्थापन समितिमा अनुमोदन गराउनुपर्ने प्रावधान अनुसार तत्काल राहत उपलब्ध गराउन पालिकालाई आग्रह गरिएको बताए ।

Translate »