कर्णाली प्रदेश वन निर्देशनालयको नवनिर्मित भवनको उद्घाटन

सुर्खेत । कर्णाली प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री सुरेश अधिकारीले आज एक समारोहका बीच वीरेन्द्रनगर–७ स्थित उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । करिब दश कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन अढाई तलाको रहेको छ ।

शौचालय, भान्साघर, स्नान कक्ष र ग्यालेरी छोडेर सो भवनमा एक सभाहलसहित १८ वटा कोठा रहेका छन् । शर्मिला कंस्ट्रक्शन प्रालि र दिनेश कंस्ट्रक्शन प्रालिले तीन करोड १४ लाखको लागतमा भवन निर्माण सम्पन्न गरेको निर्देशनालयका वन निर्देशक गणेश त्रिपाठीले जानकारी दिए ।

सो अवसरमा वन मन्त्री अधिकारीले प्रदेशअन्तर्गत वनक्षेत्रको विकास एवम् संरक्षण गर्न प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम कार्यावन्यन गर्न तथा गराउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले प्रदेशका दश जिल्लामा ११ वटा डिभिजन कार्यालयसँगै २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुको अनुगमन, नियमन तथा मूल्यांकन कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

यसअघि भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आईरहेको निर्देशनालाई आफ्नै आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री भवनबाट सेवा प्रवाह गर्न थप सहजतासँगै प्रभावकारी हुने विश्वास लिईएको निर्देशनालयका सूचना अधिकारी सूर्यप्रसाद शर्माले बताए ।

Translate »