घरेलु महासंघ सुर्खेतको अधिवेशन भदौमा

वीरेन्द्रनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको अधिवेशन भदौंमा हुने भएको छ ।

विविध कारणबस लामो समयदेखि अवरुद्ध महासंघ सुर्खेतको जिल्ला अधिवेशन अब आगामी भदौं ५ गते वीरेन्द्रनगरमा हुन लागेको हो । महासंघको बुधबार वीरेन्द्रनगरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले त्यसअघि साउन २७ गते वीरेन्द्रनगर नगर महासंघको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष सुमननाथ योगीले बताए ।

उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय कार्यालय काठमाडौंको साउन १९ गतेको पत्रनुसार महासंघका कर्णाली प्रदेश उपाध्यक्ष विरबहादुर नेपालीलाई केन्द्रिय प्रतिनिधि तोकेर सुर्खेत र दैलेख जिल्ला अधिवेशन सम्पन्न गर्न दिएको निर्देशन वमोजिम सुर्खेतमा अधिवेशन गर्न लागिएको जनाए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपालिका बाहेक सुर्खेत जिल्लाका आठ वटा पालिकामा यसअघि नै नगर महासंघ र गाउँपालिका महासंघ अधिवेशन सम्पन्न भईसकेका छन् । उनले महासंघमा आवद्ध जिल्लाका उद्योगी/व्यवसायीलाई आ–आफ्नो व्यवसाय नविकरण गराई तोकिएको मिति र समयमा हुने वीरेन्द्रनगर नगर महासंघ/सुर्खेत जिल्ला महासंघको अधिवेशनमा उपस्थितिका लागि हार्दिक अनुरोध गरे ।

यसअघि जिल्ला कार्यसमिति बैठकमा महासंघ कर्णाली प्रदेश उपाध्यक्ष विरबहादुर नेपाली, सचिव गिता खड्का, सुर्खेत जिल्ला अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेल, जिल्ला कार्यसमितिका सदस्य, जिल्ला महिला उद्यमी संघका पदाधिकारी, नगरमहासंघ र गाउँपालिका महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Translate »