अब आमाको स्वघोषणाले सन्तानले नागरिकता पाउँछन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले नागरिकता सम्बन्धी कानुनलाई संशोधन गर्न लागिएको बताएका छन् ।

नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफल गर्न आज बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले आमा नै सन्तानको पहिलो संरक्षक हुने गरी कानुन बनाउन लागिएको जानकारी दिएका हुन् । गृहमन्त्री लेखकले आमाले यो मेरो सन्तान हो भनेर स्वघोषणा गरेको अवस्थामा आमाको नाममा नागरिकता प्रदान गर्ने गरी ल्याइएको यो विधेयकले उल्लेख गर्न नचाहेमा बाबुको नाम राख्न नपर्ने व्यवस्था गरेको बताए ।

हालको अवस्थामा आमाको नाममा नागरिकता लिन झन्झट भएको भन्दै गृहमन्त्री लेखकले यो व्यवस्थाले नागरिकताविहीन हजारौं युवाका समस्या समाधान हुने विश्वास व्यक्त गरे । प्रस्तावित विधेयकमा आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको छ । विदेशी बाबु भएको तर नेपाली आमाले उल्लेख गर्न नचाहेको अवस्थामा पनि आमाको स्वघोषणाकै आधारमा अङ्गीकृत नेपाली नागरिकता प्राप्ति गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ ।

बैठकमा सांसदहरू डा. वेदुराम भुसाल, गोपाल भट्टराई, इन्दिरादेवी गौतम, युवराज शर्मा, भुवनबहादुर सुनार, रेणु चन्द लगायतले अन्तरजातीय विवाहबाट जन्मेका सन्तानले पनि आमा वा बाबुमध्ये एकको नाममा नागरिकता पाउनुपर्ने, कुनै सन्तानले आमाको नाम उल्लेख गर्न नचाहेमा बाबुको स्वघोषणाले पनि नागरिकता पाउन सक्ने सैद्धान्तिक पक्षलाई विधेयकले समेट्नुपर्नेमा जोड दिए ।

सांसदहरूले नागरिकता प्रदान गर्दा सम्बन्धित अधिकारीले गरेको निर्णय उपर चित्त नबुझेमा अनलाइन प्रणालीबाट गृह सचिवलाई निवेदन दिन सकिने र निवेदनकै आधारमा ३५ दिनभित्र एक पटकका लागि नागरिकता सच्याउन सकिने व्यवस्था पनि कानुनमा गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Translate »