

छिन्चु । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयलाई एक करोड लागतको भवन हस्तान्तरण गरेको छ ।
नगरपालिकाले सोमबार एक कार्यक्रमका वीच रामघाट स्थित मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीलाई उक्त लागतको ल्याब भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित कृषि कार्यक्रमका शैक्षिक गतिविधि सुदृढ गर्न नव निर्मित उक्त ल्याब भवनबाट कृषिका कार्यक्रम सञ्चालन गर्न थप सहज हुने विश्वास लिईएको छ ।


भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन चन्द्रेश्वरप्रसाद श्रीवास्तवलाई नवनिर्मित भवनको स्वामित्वको कागज हस्तान्तरण गरेका हुन् ।
भवन हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार शोभाखर कँडेल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली, कृषि कार्यक्रमका संयोजक धिरेन्द्रमान थापा, प्रशासन अधिकृत सिन्धु दाहाललगायतको उपस्थिति रहेको थियो ।











