घरेलु तथा साना उद्योगको विकासका लागि प्याकेजमै कार्यक्रम ल्याउन माग

सुर्खेत । घरेलु तथा साना उद्योगको विकासमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको कर्णालीका उद्यमीको गुनासो छ ।

नेपाल घरेलु तथा साना उद्योग वीरेन्द्रनगर नगर महासंघको तेस्रो अधिवेशनमा बोल्ने अधिकांस उद्यमीहरुले साना तथा मझौला उद्योग अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रुपमा अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्या समाधान गर्न नसकेको उनीहरुको गुनासो छ । साना तथा मझौला उद्योग अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रुपमा अग्रसरता देखाउनुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य तथा वरिष्ठ उद्यमी हरिश्चन्द्र चलाउनेले बताए ।

उनले कर्णालीमा अधिकांस साना तथा मझौला उद्योग महिलाद्वारा सञ्चालित भईरहेकाले उद्यमको विकास लागि सरकारले प्याकेजमै नयाँ योजना ल्याउनु आवश्यक रहेको औल्याए । अहिले धेरै युवाले केही उद्योग गरौं भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा प्रदेश तथा स्थानीय सरकारहरुले त्यस्तो वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले घरेलु तथा साना उद्योगलाई उपेक्षित गरिएकाले यस क्षेत्रको विकासका लागि उद्यम तथा व्यवसायमा आबद्ध व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले साना तथा मझौला व्यवसायीलाई उद्योग दर्तादेखि खारेज गर्न समेत झंझटिलो कानूनी प्रक्रिया बनाईएकाले थुप्रै समस्याहरुको साम्ना गर्नु परिरहेको बताए ।

यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देविप्रसाद सापकोटाले उद्योगी, व्यवसायीका गुनासा तथा सुझावहरु संकलन गरी सरकार समक्ष पु¥याउने पुलको काम निर्देशनालयले गरिरहेको बताए । पछिल्लो समय तुलनात्मकरुपले निर्देशनालय उद्योगी मैत्री बन्दै गईरहेको बताउँदै उनले आवश्यकताका आधारमा नीतिगत रुपमै सरकारले सुधार कार्यहरु अगाडि बढाईरहेको दावी गरे ।

यसैवीच नेपाल घरेलु तथा साना उद्योग वीरेन्द्रनगर नगर महासंघको अध्यक्षमा झुमकली आचार्य निर्वाचित भएकी छन् । वीरेन्द्रनगरमा सम्पन्न वीरेन्द्रनगर नगर महासंघको तेस्रो अधिवेशनले आचार्यलाई सर्वसम्मत नगर महासंघ अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमल नेपाली, उपाध्यक्ष हस्तबहादुर बुढा, महासचिव, लिला सिजापती, कोषाध्यक्ष कमला चौधरी तथा सदस्यहरुमा निरु नेपाली,सन्तोष खत्री, मोहना चौधरी, विन्दु शाही, सन्तोषी विश्वकर्मा, प्रतिमा कार्की र ललि सिंजालीलाई निर्वाचित गरेको छ । अधिवेशनले सितली चौधरीको नेतृत्वमा ११ सदस्यीय वीरेन्द्रनगर नगर महिला उद्यमी समिति समेत निर्वाचित गरेको छ ।

Translate »