अपाङ्गता भएकाहरुको व्हीलचेयर बास्केटबल प्रतियोगितामा सेतो टीम विजयी


वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा स्पाइनल इन्जुरी युनियनले आयोजना गरेको मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन अन्तर्गतको शिफ्ट् अभियानको सहयोगमा वीरेन्द्रनगरको कालागाउँ स्थित एसओएस हर्मन माइनर स्कूलमा आयोजित मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगितामा सेतो टीमले ३–२ प्वाइन्टको अन्तरले नीलो टीमलाई पराजीत गर्दै विजयी भएको हो ।
खेलकुदको माध्यमबाट अपाङ्गता अधिकार र समावेशीताको प्रवद्र्धन गर्ने उद्देश्यले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोतिा आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा अपाङ्गता भएका व्यक्ति केवल एक पीडित हु्न् भन्ने भाष्य चिर्दै शिक्षा, स्वास्थ्य, र सामाजिक संरक्षणको क्षेत्रमा सुधारका कार्यहरु गर्न खेलकुद प्रतियोगिता अपरिहार्य बन्दै गईरहेको स्पाइनल इन्जुरी युनियनका संस्थापक दिव्यराज खड्काले बताए ।
उनले बास्केटबल जस्ता सक्रिय खेलहरुका माध्यमबाट अपाङ्गता भएका व्यक्तिमा पनि शक्ति, उत्थानशीलता, र क्षमता रहेको प्रमाणित गर्न यस्ता खाले प्रतियोगिता आवश्यक रहेको औल्याए ।


आगामी दिनमा समेत शिफ्ट अभियान अन्तर्गत स्पाइनल इन्जुरी युनियनले अपाङ्गता समावेशिता प्रवद्र्धनका लागि अनुभव आदानप्रदानसँगै अन्तक्र्रियात्मक सत्रहरु सहितका थप व्हीलचेयर बास्केटबल खेलहरु आयोजना गर्ने योजना रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालका पैरवी निर्देशक आयुष श्रेष्ठ जोशीले व्हीलचेयर बास्केटबल जस्ता खेलका माध्यमबाट विशेष गरी अपाङ्गता भएका युवालाई अगाडि ल्याई दिगो परिवर्तनका लागि सहकार्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खेलकुदले सोंचाइका सीमाहरु भत्काउँदै साझा लक्ष्यतर्फ मानिसलाई एकजुट गराउँने गरेको उनको भनाइ थियो ।



