सुर्खेतमा चार जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

आज सुर्खेतको वीरेन्द्रनगर स्थित लोकसेवा आयोगको कार्यालयमा सञ्चालित प्राविधिक प्रहरी जवानको परीक्षामा सहभागी चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२, का धर्मराज चुनरा र उनको सट्टामा परीक्षा दिन आएका सोही जिल्लाको कुशे गाउँपालिका–७, सामाकोटका २५ वर्षिय श्यामशंकर सिंह, जिल्ला दैलेख भगवतीमाई गाउँपालिका–५, बस्ने सुशिल शाही र उनको सट्टामा परीक्षा दिन आएका सोही गाउँपालिका–७, का २० वर्षिय भरत तिरुवा रहेका छन् ।

सञ्चार/ईन्जिनियर प्राविधिक प्रहरी जवानको परीक्षामा नागरिकता र प्रवेश पत्रमा फोटो बद्लेर दिने र दिन लगाउनेलाई पक्राउ गरी आवश्यक कानूनी कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताए ।

उनका अनुसार सुरक्षाका लागि लोक सेवा आयोगको कार्यालय परीक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएर लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाईएको छ ।

 

Translate »