कर्णालीका तीन जिल्लामा ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सञ्चालन हुँदै

सुर्खेत । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम कर्णालीका तीन जिल्लामा सञ्चालन गरिने भएको छ ।

सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको आयुर्वेदिक उपचार विधिबाट स्वास्थ्य प्रवद्र्धनसँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न आगामी असोज १ गतेदेखि प्रदेशका सुर्खेत, दैलेख र जुम्लामा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यसअघि भदौं ५ गते देखि नै कार्यक्रम सञ्चालन गर्ने योजना बनाईएपनि प्रचारप्रसारसँगै आवश्यक तयारी पुरा नहुँदा असोज १ गतेदेखि शुरु गर्न लागिएको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका कविराज निरीक्षक पुष्पा आचार्यले बताईन् ।  उनले पहिलो चरणमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जुम्लामा एकसाथ ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गर्न लागिएको  जानकारी दिइन् ।

उनका अनुसार संघीय सरकारले ‘स्वर्णबिन्दु प्राशन’ निर्देशिका पारित गर्दै पहिलो चरणमा देशभरका २१ वटा आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । संघीय सरकारले सुर्खेत र जुम्लामा सञ्चालन गर्न लागेपछि कार्यक्रमको प्रभावकारितालाई मध्यनजर राख्दै कर्णाली प्रदेश सरकारले असोज १ गतेदेखि नै दैलेखमा समेत शुरु गर्न लागेको उनको भनाइ छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले परीक्षणका रुपमा यसअघि २०७९ सालदेखि नै राष्ट्रिय कार्यक्रमकै रुपमा देशका केही जिल्लाबाट शुरु गरिएको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम यस वर्षदेखि कर्णालीका तीन जिल्लामा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ तथा मेधावी पुस्ता निर्माण गर्न ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी पुस्तालाई निरोगी बनाउने लक्ष्यअनुरुप कर्णालीमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको उनको भनाई छ ।

Translate »