सात वर्ष लगाएर रामघाट प्रहरी चौकी भवनको उद्घाटन् गरियो


छिन्चु सम्वाददाता । स्काई न्यूज दैनिकको लामो खवरदारी पछि निर्माण सम्पन्न भएको रामघाट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर सौभाग्यवस कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्राप्त गरेका छन् ।
बुधबार मुख्यमन्त्री कँडेलले एक सार्वजनिक कार्यक्रमका वीच पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–१३, रामघाटमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । अमुक राजनीतिक दलको खोल ओढेर कर्णालीमा करिब आधा दर्जन बढी आयोजना अलपत्र पार्दैै समयमा काम गर्न नसक्ने विभिन्न कम्पनीसँगको सहकार्यमा काम गर्ने बद्नाम सुपरस्टार/ गाल्वा/क्याराभान जेभी काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुर्खेत बीच २०७६ जेठ ११ गते सम्झौता भएको थियो ।

एक करोड ५७ लाख ५८ हजार ३ सय ८० रुपैयाँ लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख ७ हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । ३ सय २ वर्ग मिटर क्षेत्रफलमा बनेको ३ तले प्रहरी चौकी भवनमा ब्यारेक, अफिस, गार्ड रुम, महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना रहेका छन् ।
नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने औंल्याए । उनले नेपाल प्रहरी हिजो भन्दा आज दक्षता हासिल गर्दै गएको दाबी गरे । निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउँदै उनले दलीय मतभिन्नतालाई थाती राखेर जनतमाँझ आशा र विश्वास दिलाउन सके राजनीतिसँगै विकासले सही मार्ग पहिल्याउने दावी गरे ।
‘एक अर्कालाई कमजोर देखाउन केही भएको छैन् भनेर निराशा बाँड्न हुँदैन्,’ उनले भने, ‘ठूला तीन दल पालैपालो शासन सत्तामा छौं, हामीले भएका राम्रा सकारात्मक कामहरु सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।’

मुख्यमन्त्री कँडेलले विकास जुन तहका सरकारले गरेपनि यही व्यवस्थाको उपज भएकाले सामूहिकतामा हेरिनुपर्ने धारणा व्यक्त गरे । उनले अघिल्लो पुस्ता जस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताए ।

‘हामीले ५० वर्षपछि नयाँ प्रहरी चौकी पायौं, तर अहिलेको पुस्ताले यतिका वर्ष पर्खन सक्दैन्,’ उनले भने, ‘हामी जिम्मेवार ठाउँमा भएकाले इमान्दारपूर्वक काम गरेर विश्वास दिलाउन सकौं, जसले हामी मध्येबाटै चुनिने जनप्रतिनिधिलाई सहजता हुने हो ।’ कार्यक्रममा कर्णाली प्रदेश सभा सांसद कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताए ।
प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पुरा भएकोमा सरकारलाई बधाई दिए । भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरीलाई सफल हासिल हुने विश्वास व्यक्त गरे ।
भवन निर्माणसँगै प्रहरीलाई नागरिक सेवा प्रवाहमा अतुनलिय सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले अब प्रहरीको जिम्मेवारी थपिएको बताए ।
यता ढिलैभएपनि सरोकारवाला सर्वसाधारणले भने बद्नाम निर्माण ठेकेदार कम्पनी मार्फत भवन उद्घाटन गराउन सफल भएकोमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई बधाई दिएका छन् ।


