‘स्टार्टअप कर्जा कार्यक्रम’ औद्योगिक विकासका लागि महत्वपूर्ण : मन्त्री अधिकारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेशको औद्योगिक विकासलाई द्रुतगतिमा अघि बढाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रभावकारी हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले आयोजना गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्टार्टअप कर्जा कार्यक्रम’ सम्बन्धी प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानी अभावमा पछाडी परेको कर्णालीको समृद्धिका लागि उद्यमशीलताको विकासमा ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने बताएका हुन् ।

उनले कर्णाली जस्तो सम्भावनायुक्त प्रदेशमा नवप्रवर्तनलाई अघि बढाउन सरकारले आवश्यक लगानी गर्ने र उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । संघीय सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रदेश, स्थानीय तह र निजीक्षेत्रको सहकार्यमा व्यवसाय प्रवद्र्धन, बजारीकरणसँगै मूल्य श्रृंखलाको विकासका लागि समेत टेवा पुग्ने उनको भनाइ थियो ।

‘प्रदेशका उद्योगी व्यवसायीलाई प्रवद्र्धन तथा प्रोत्साह गर्न प्रदेश सरकार जुटिरहेको छ,’ उनले भने, ‘प्रदेशमा उद्यमशीलताको विकासका लागि प्रदेश सरकार नीतिगत सुधार तथा सहकार्य गर्न तत्पर छ ।’ उनले प्रदेशका उद्योगलाई चलायमान र अग्रसर बनाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ बाट लाभ लिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले भने, ‘लगानीको अभावमा थुप्रै उद्योग बन्द भइरहेका छन् र कतिपय बन्द हुने तदारमा छन् त्यसकारण पनि स्टार्टअप कार्यक्रमले सहयोग पुग्नेछ ।’

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले स्टार्टअप कर्जा वितरण प्रक्रियालाई सहज, पारदर्शी र सबैको पहुँचमा पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले ल्याएको नीति सकारात्मक भएपनि व्यवहारमा अझै धेरै सुधार गर्नुपर्नेमा जोड दिए ।

स्टार्टअप इन्नोभेसन फोरमकी संयोजक जुना माथेमा स्टार्टअप व्यवसायलाई बैंकिङ पहुँचमा लैजाने प्रक्रिया र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको औल्याईन् । त्यस्तै आईईडीआईका कार्यकारी निर्देशक उमेश गुप्ताल स्टार्टअप कर्जा कार्यक्रमको उद्देश्य, पात्रता, आवेदन प्रक्रिया र दस्तावेज आवश्यकताबारे विस्तृत जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका महिला उद्यमी, युवा व्यवसायी, विभिन्न क्षेत्रका सरोकारवाला, उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले उद्यमशीलता विकास, वित्तीय पहुँच र व्यवसायिक परामर्श जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

यस कार्यशालामार्फत ‘स्टार्टअप कर्जा कार्यक्रम’ लाई प्रदेशस्तरमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको सहभागीहरुको भनाइ थियो ।

Translate »