

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । साढे तीन घण्टा चन्द्रग्रहण देखिने उनले बताए ।
नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।
यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्छ ।
ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिँगार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।
ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन ।

कुन राशिलाई कस्तो छ आज रातिको चन्द्रग्रहण
आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ । वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ ।
धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ । शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रो अनुसार ग्रहण सेप्टेम्बर ७ तारिकको राति र नेपाली पात्रो अनुसार भदौ २२ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ ।
ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ । वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।
आज राति ११ः१५ बजेदेखि चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उनले बताए । बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो ।
आफैं हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आव्हान गरेको छ । चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिकरुपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ । रासस











