डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत वन अधिकृत सुनिलकमल कँडेल ‘निजामति सेवा सम्मान २०८२’ बाट सम्मानित


सुर्खेत । निजामती सेवा दिवसको अवसरमा डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत वन अधिकृत सुनिलकमल कँडेल पुरस्कारसहित सम्मानित भएका छन् ।
उनलाई दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठान काठमाडौंले एक कार्यक्रमका वीच ‘निजामति सेवा सम्मान २०८२’ बाट सम्मानित गरेको हो । उक्त सम्मान पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कँडेललाई प्रदान गरेकी हुन् ।
भूःसंरक्षण सहायक पदबाट निजामती सेवामा प्रवेश गरेका कँडेलले विभिन्न निकायहरुमा सेवा गर्दै हाल डिभिजन वन कार्यालय सुर्खेतको वन अधिकृत पदमा रहेर सेवाग्राहीलाई मन, वचन र कर्मले सेवा गरेवापत उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै ‘निजामति सेवा सम्मान २०८२’ बाट सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।

आगामी दिनमा समेत निजामती कर्मचारी प्रशासनका माध्यमबाट देश विकाश र नागरिकप्रति समर्पित भई आफ्नो सेवाकालमा पवित्र र उत्कृष्ट कार्य गर्न प्रतिष्ठानले कँडेललाई आग्रह गरेको छ ।
दाङको तुलसीपुरमा बिक्रम् सम्वत् २०५३ साल चैत ५ गते पिता यादवप्रसाद कँडेल र माता कुमारी तिवारी कँडेलको कोखबाट जन्मिएका कँडेल यसअघि पनि विभिन्न पुरस्कारबाट पुरस्कृत हुँदै आएका छन् ।
निजामति सेवा दिवसका दिन हरेक वर्ष प्रतिष्ठानले दिने यो सम्मान कर्णाली प्रदेशबाट ‘निजामति सेवा सम्मान २०८२’ पाउने कँडेल एक मात्र कर्मचारी हुन् ।


