सुर्खेतमा सरकारी कार्यालयसँगै राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी


सुर्खेत । जेन–जी पुस्ताको आन्दोलनको दोस्रो दिन आज कर्णाली प्रदेश राजधानी सुर्खेत दिनभरी अशान्त बनेको छ ।
प्रदर्शनकारीहरुले कर्णाली प्रदेश सभा भवनदेखि पार्टीका कार्यालयहरु, नेताका घरहरु लुटपाट गर्नुका साथै आगजनी र तोडफोड गरेका छन् । आज बिहानदेखि प्रदर्शनकारीहरुले वीरेन्द्रनगरको मंगलगढी चोकमा जम्मा भएर प्रदर्शन सुरु गरेका थिए ।
प्रदर्शनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास र निजी निवास, कर्णाली प्रदेशसभा भवन, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका पार्टी कार्यालयहरु जलाएका छन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, वडा नं. ६ र ७ को कार्यालयका साथै मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनालको निजी निवास पनि जलाएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बेलुका साढे चार बजेदेखि कर्फु लगाए पनि त्यसको कुनै प्रभाव देखिएको छैन् ।
मुख्यमन्त्रीको सरकारी निवास, प्रदेशसभा, उपमेयर ढकालको निजी निवास कर्फुपछि जलाइएका थिए । प्रहरीका अनुसार प्रदर्शनकारीहरुद्वारा विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड र आगजनीका क्रममा १२ जना प्रहरी र केही आन्दोलनकारीहरु घाइते भएका छन् ।


