नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले बाँकेको नेपालगञ्ज स्थित हिर्मुनिया बालसुधार गृहबाट भागेका कैदीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, गोटामकोटका १७ वर्षिय मनिष विष्टलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा बालसुधार गृहमा कैदीबन्दी र सुरक्षाकर्मी वीच भएको झडपमा विष्ट भागेका थिए । सुर्खेतमा नेपाली सेना र प्रहरीले शुरु गरेको संयुक्त चेकजाँचका क्रममा फरार कैदी विष्ट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार फरार कैदी विष्टलाई पक्राउ गरी थप अनुसन्धानका लागि अहिले हिरासतमा राखिएको छ ।

