मुख्यमन्त्री कँडेलद्वारा जेन–जी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको अनुगमन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा सुर्खेतमा क्षति गरिएका भौतिक संरचनाको अनुगमन गरेका छन् ।
उनले आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित आन्दोलनकारीद्वरा जलाईएका सरकारी तथा निजी भौतिक संरचनाहरुको अनुगमन गरेका हुन् । आन्दोलनमा मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास र वीरेन्द्रनगरको भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोडसँगै आगजनी गरिएको थियो ।

जेनजी आन्दोलनमा सहभागीहरुले सरकारी कार्यालयहरु, राजनीतिक दलका कार्यालयसँगै व्यक्तिका निजी आवासलाई निशाना बनाएर आगजनी गरेका थिए । आन्दोलनकारीद्वारा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरिएको थियो ।
आन्दोलनका क्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै राजनीतिक दलसँग आवद्ध व्यक्तिहरुको निजी आवासमा समेत तोडफोड, आगजनी तथा लुटपाट भएको थियो ।

