को हुन् अर्थमन्त्री रामेश्वर खनाल ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

देशमा आर्थिक दबाब र राजनीतिक अनिश्चितता कायम रहँदा गठन भएको अन्तरिम सरकारमा अर्थतन्त्रलाई स्थिर पार्ने र दीर्घकालीन सुधारको मार्गचित्र तयार पार्ने व्यक्तिका रूपमा खनालले उक्त जिम्मेवारी पाएका हुन्।

राजस्व नीति, बजेट योजना र सार्वजनिक लेखापरीक्षणमा लामो अनुभव बोकेका खनाललाई अर्थ मन्त्रालयको जिम्मा दिइनुले सरकारको प्राथमिकता स्पष्ट भएको विश्लेषकहरूको टिप्पणी छ।

नवनियुक्त अर्थमन्त्री खनाललाई बजारमा स्थिरता ल्याउने, सरकारी तलब–भत्ता र सामाजिक सुरक्षा भुक्तानी निरन्तर जारी राख्ने तथा आवश्यक संरचनागत सुधार अघि बढाउने चुनौती रहने देखिन्छ।

उनकै अध्यक्षता गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सिफारिस गरेका सुधार कार्यक्रम (राजस्व परिचालन सुदृढीकरण, खरीद प्रणाली सरलीकरण र सार्वजनिक उपक्रमलाई दक्ष बनाउने) लाई अघि बढाउने अपेक्षा गरिएको छ।

सचिवबाट मन्त्री बनेकाले उनलाई काम गर्न सहज हुने देखिन्छ। लामो प्रशासनिक अनुभवका कारण अर्थ मन्त्रालयको संरचना र कार्यप्रणालीप्रति उनको गहिरो समझ छ। मुलुकको सुधार मार्गचित्र तयार पार्ने नेतृत्वकर्ता भएकाले उनले तत्काल कार्यान्वयन गर्न सकिने प्राथमिकताहरू पहिचान गरिसकेका छन्।

विशेषज्ञहरूका अनुसार कमजोर अर्थतन्त्रमा बजेटको सूक्ष्म पक्ष र दीर्घकालीन सुधार दुवै बुझ्ने मन्त्रीको उपस्थिति निर्णय प्रक्रियालाई छिटो बनाउन सहयोग पुर्याउनेछ। अन्तरिम सरकार गठनसम्बन्धी छलफलमा खनालको छनोटका कारणका रूपमा उनको सुधार आयोग नेतृत्वलाई बारम्बार जोड दिइएको छ।

लामो प्रशासनिक अनुभव

त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एमकम गरेका खनालको करिअर नेपाल सरकारको आर्थिक प्रशासनसँग जोडिएको छ।

उनले सहकारी विकास, राजस्व नीति, बजेट योजना र सार्वजनिक खरीदका क्षेत्रमा लामो समय काम गरेका थिए। मन्त्रालयभित्रैका सुधार कार्यदलको नेतृत्व गर्दै उनले कर प्रशासन, सार्वजनिक लेखा र खरिद प्रणालीमा महत्वपूर्ण सुधारहरू गरेका थिए।

अर्थसचिवका रूपमा रहँदा उनले राजस्व–जीडीपी अनुपातमा सुधार ल्याउने, आधुनिक लेखा प्रणाली अघि बढाउने र नीति निर्माणमा पारदर्शिता बढाउने प्रयास गरेका थिए।

अर्थसचिवबाट राजीनामा र राजनीतिक यात्रा

अर्थसचिव पदबाट राजीनामा दिएपछि खनालले पत्रकार सम्मेलनमार्फत निर्णयको कारण स्पष्ट पारेका थिए। उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मन्त्रालयको संरचनालाई बाइपास गरेर अतिरिक्त बजेट तयार गरेपछि आफूले विश्वास गुमाएको महसुस गर्दै पद त्यागेको बताएका थिए।

त्यसपछि राजनीतिक क्षेत्रमा समेत सक्रिय बनेका खनाल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्पसपछि उनी तत्कालीन नयाँ शक्ति पार्टीको आर्थिक नीति ब्यूरो प्रमुख बनेका थिए। तर, पछि उनले ट्विटरमार्फत पार्टी परित्यागको घोषणा गरेका थिए । (आर्थिक अभियान)

Translate »