तोडफोड र आगजनी गर्नेलाई पक्राउ गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

सुर्खेत । राष्ट्रिय उपभोक्ता मञ्चले कर्णाली प्रदेश राजधानी सुर्खेतमा जेनजी आन्दोलनको मौका छोपेर भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

मञ्चको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला कार्य समितिले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै प्रशासनलाई दबाब दिईरहेको छ । जेनजी आन्दोलनको नाममा घुसपैठ भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्नुपर्नेमा अहिले राष्ट्रिय उपभोक्ता मञ्चसहित राजनीतिक दलहरुले समेत चौतर्फी दबाब बढेएका छन् ।

विशेषगरी निजी सम्पत्ति तोडफोड भएका जनप्रतिनिधिहरुले समेत कुनै पनि हालतमा जेनजीको नाममा विध्वंस मच्चाउनेहरुलाई तत्कालै कारवाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको भागिदार सुरक्षा निकाय आफै हुनु पर्ने उनीहरुको चेतावनी छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले सुरक्षा निकायका प्रमुखहरुवीच भएको छलफलमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति छानिछानी तोडफोड र आगजनी गर्नेहरुलाई निष्पक्ष छानविन गरि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

बिहान देखि राति सम्म एउटै समूहले तोडफोड र आगजनी गरिरहँदा समेत प्रशासन मुखदर्शक बनेको भन्दै सुरक्षा प्रणाली फितलो भएको भन्दै चर्को आलोचना गरेका छन् ।

सुरक्षा निकायले भने उक्त दिन केही त्रुटि भएको स्वीकार गर्दे जनशक्तिको अभाव लगायतका कारण पनि समस्या भएको तर्क गरेका छन् । यता प्रहरी प्रशासन ले भने घटना संलग्नहरुको जानकारी र अन्य सूचना उपलब्ध गराउन आग्रह गर्दै अहिले भिडियो फुटेजका आधारमा सोधपुछ गर्ने क्रम चल्नुका साथै अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

‘आगजनी र तोडफोडले आफूहरु घरबार विहीन बन्नु परेको जिल्लाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । तोडफोड र आगजनीसँगै धनमाल समेत चोरी भएको उनीहरुको भनाइ छ ।

Translate »