खोप सुनिश्चित कर्णाली

कर्णाली प्रदेशलाई ‘पूर्णखोप सुनिश्चित प्रदेश’ घोषणा गरिएको छ । यो एउटा सुखःद पक्ष हो । किनभने बालघातक सरुवा रोगबाट बचाउन विभिन्न खोप दिने गरिन्छ । खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ ।कुनै सरुवा विषाणु, जीवाणुको सङ्क्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले खोप दिनु परेको हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । लहरे खोकी, भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, निमोनिया पोलियो, दादुरा, टाइफाइड, हेपाटाइटिस आदि बालघातक रोग हुन् । प्रदेशका ५९ महिनासम्मका बालबालिकासहित खोप लगाउन छुटेका तथा खोप नलगाएका एक लाखभन्दा बढी बालबालिकाले खोप लगाईएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।

कर्णालीका १५ महिनासम्मका ३१ हजार २ सय ४३ जना, १६ महिनादेखि ५९ महिनासम्मका ७० हजार ५ सय ४९ जना, शून्य डोजका १५ महिनासम्मका आठ जना, १५ महिनासम्मका खोप लगाउन छुटेका १ सय ९२ जनाले खोप लगाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका शून्य डोजका १८ जना र १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका ५ सय ८६ जना गरी कुल एक लाख दुई हजार ५ सय ९६ जना बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो । नियमित खोप लगाउनुका साथै खोपै नलगाएका र खोप लगाउन छुटेका बालबालिकासमेत खोपको पहुँचमा आएका छन् । यो सवल पक्ष हो । त्यसमा शून्य डोज र खोप छुटेका ८ सय ४ जना नयाँ बालबालिका पनि खोपको सम्पर्कमा आउन सफल भएका छन् । एक वर्षभित्र घर घरमा खोजी गरेपछि ती संख्या फेला पारी उनीहरुलाई पनि सबै खोप लगाइएको हो । कर्णालीमा सबैभन्दा पहिला सल्यान जिल्ला गत असार १९ गते र सबैभन्दा पछि डोल्पा असार ३० गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका थिए ।

प्रदेशका सबै जिल्लाका १३ प्रकारका खोप पाउनुपर्ने सबै बालबालिकाले खोप पाएको छन् । यद्यपि ! कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिए पनि यसको दिगोपनामा चुनौती देखिन्छ । कर्णालीबाट कामको सिलसिलामा अभिभावक भारततिर बालबालिकासहित जाने भएकाले उनीहरु खोप पाउनबाट वञ्चित हुनसक्ने अवस्था छ । त्यसमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायतको अझ धेरै मेहनत गर्नु पर्दछ । खोप पाउनबाट कुनै पनि बालबालिका छुट्न नहुनेतर्फ सचेत रहन स्वास्थ्यकर्मी तथा चिकित्सक जुटिरहनु पर्छ । स्वास्थ्य क्षेत्रको सुधार हुने प्रमुख कदम खोप कार्यक्रम भएको हुँदा आगामी दिनमा खोपको दिगोपनालाई ध्यान दिनु नै पर्छ । पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुनुको पछाडी खोप कार्यक्रमको योगदान बढी देखिन्छ । देशैभर कर्णाली पूर्ण खोप प्रदेश घोषणामा चौथो प्रदेश हो । ८० प्रतिशत मृत्युदर घटाउन खोप कार्यक्रमले ६० प्रतिशत योगदान दिएको छ । शून्य डोज र छुटेका खोप लगाउने बालबालिका खोज्ने कार्यमा पनि उल्लेख्य सुधार आएको पाईन्छ । यसले कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार आएको मान्न सकिन्छ ।

Translate »