जेनजीको आवरणमा उश्रृंखल समूहले निजी सम्पत्तीमाथि प्रहार गरी अराजकता मच्चाएको डा.डम्मर खड्काको भनाइ

सुर्खेत । नेपाली काँगेसका उपसभापति पूर्णबहादुर खड्काका सहोदर भाइ डा. डम्बर खड्का र विष्णु खड्काले आन्दोलनका नाउमा आफूहरुमाथि अन्याय भएको बताएका छन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा उनीहरुको घर तथा व्यवसायमा आगजनी, तोडफोड र लुटपाट भएपछि आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेताको घर–परिवार भएकै कारण आफ्नो परिवारलाई अराजक व्यक्ति र समूहले निसाना बनाएको बताएका हुन् ।

आफूहरुले पेशा–व्यवसाय गरी मेहनतले कमाएको सम्पत्तिमा आगजनी र लुटपाट भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनीहरुको माग छ । दाइ पूर्णबहादुरले लामो समयदेखि राजनीतिमार्फत समाज र मुलुुकको लागि निस्वार्थ भावनाले काम गरिरहेको बताउँदै दाई पूर्णबहादुर खड्काले पदको दुरुपयोग वा भ्रटाचारजन्य गतिविधि गरी घर गाडी वा अस्वाभाविक कुनै सम्पत्ति जोडेको भेटिए दाइमात्र नभइ आफूहरुसमेत त्यसको सजाय भोग्न तयार रहेको बताए ।

उनीहरुले पूर्णबहादुर खड्का भ्रटाचारजन्य गतिविधिमा संलग्न रहेको भए छानविन गरेर पत्ता लगाउन चुनौती दिए । सबै राजनीतिकर्मीलाई एउटै डालोमा हालेर भ्रष्टको संज्ञा दिन नहुने उनीहरुको भनाइ थियो । २३ र २४ भदौमा भएको जेनजी बिद्रोहका क्रममा दोस्रो दिन वीरेन्द्रनगर–७ मा रहेको उनीहरुको घरमा आगजनी भएको थियो ।

आगजनी भएका तीन वटामध्ये एउटा पुरानो पुर्खेउली हो भने एक डम्बर र अर्को विष्णुको घर हो । आगजनीबाट घरमात्र नभइ गाडी र सबै सरसामान पूर्णरुपमा नष्ट भएका छन् । खड्का परिवारको करोडौंको सम्पत्ति क्षती भएको छ । जेनजी आन्दोलनको उद्देश्य सही भएपनि त्यसको आवरणमा उश्रृंखल समूहले योजनाबद्ध रुपमा व्यक्ति र निजी सम्पत्तीमाथि प्रहार गरेर अराजकता मच्चाएको खड्का परिवारको भनाइ छ ।

ती घरमा यसअघि प्रदेश प्राप्तिको आन्दोलनका बेला पनि तोडफोड हुनुका साथै आगजनीको प्रयास भएको थियो । डा. डम्बर कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक हुन् । झन्डै चार दशक चिकित्सा पेशामा सक्रिय रहेका उनी केही समय पहिले सेवा निवृत्त भएका थिए ।

विष्णु भने व्यवसायी हुन् । सुर्खेतको वीरेन्द्रनगरमा माया नर्सिङ होम, माया पेट्रोल पम्पलगायतका व्यवसाय सञ्चालन गरिरहेका उनी कांग्रेस सुर्खेतका उपसभापति छन् । उनी मध्यपश्चिम यातायाता व्यवसायी प्रा.लिका अध्यक्षसमेत हुन् ।

Translate »