

बाँके । सद्भावको शहर नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ। बिहीबारको शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै दसैं मनाउएका छन् ।
धार्मिक सद्भाव र सहअस्तित्वलाई निरन्तरता दिने परम्पराअनुसार मुस्लिम अगुवाहरूले हिन्दु चाडपर्वमा सामेल हुँदै आशीर्वाद लिएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा अब्दुल मन्सुरीले हिन्दु समुदायका ज्येष्ठ व्यक्तिबाट टीका–जमरा थाप्दै यो परम्परा केवल पर्वको सीमामा नभई आपसी सम्बन्ध र भाइचाराको अभूतपूर्व उदाहरण भएको बताए । उनले दसैं, तिहार, होली, रक्षाबन्धन, दीपावलीजस्ता चाडपर्व सधैं मिलेर मनाउने चलन रहँदै आएको उल्लेख गरे ।

यस्तै, वरिष्ठ समाजसेवी प्रवेजअलि सिद्दिकीले पनि आफन्त र मान्यजनबाट टीका थाप्दै सानालाई टीका लगाइदिएका छन् । उनले दुवै समुदायबीच वर्षौंदेखि रहेको आत्मीय सम्बन्धले नेपालगन्जलाई सामाजिक सद्भावको नमूना शहर बनाएको बताए । सोही अवसरमा मुस्लिम अगुवा राज खान र साकिर खानले पनि टीका–जमरा थाप्दै आशीर्वाद ग्रहण गरेका छन् ।
उनीहरुले सबै समुदायका चाडपर्वलाई सम्मानपूर्वक मनाउन पाउँदा खुशी लागेको बताए । सामाजिक अगुवा नमस्कार शाहले नेपालगन्जमा एक–अर्काका पर्वमा सहभागिता जनाउने परम्परा प्रशंसनीय भएको उल्लेख गर्दै, कहिलेकाहीं बाहिरी प्रभावका कारण वातावरण धुम्मिने भएपनि दुवै समुदायले मिलेर फेरि सौहार्दपूर्ण बनाउने गरेको जनाए ।











