२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

कर्णालीमा सामाजिक सुरक्षा कोषको दायरा निकै कमजोर देखियो



सुर्खेत । सामाजिक सुरक्षा कोषको दायरा कर्णालीमा कमजोर देखिएको छ । मानव विकास सूचकाङ्कको पुछारमा सूचीकृत कर्णालीमा कोषको दायरा व्यापक हुनुपर्नेमा न्यून रहेको कोषको तथ्यांकले देखाएको हो ।

संघीय सरकारले श्रमिकको हक सुनिश्चित गर्ने उद्देश्यले सात वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात गरेको थियो । उक्त कोषको मुख्य उद्देश्य नै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो । योगदानमा आधारित योजना अन्तर्गत पाँच वटा सुविधाहरु उपलब्ध गराइन्छ ।

जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना छन् । कोषका उपनिर्देशक डा. सचितकुमार भण्डारीका अनुसार कर्णालीमा हालसम्म २ सय ९४ रोजगारदाता मात्रै कोषमा आबद्ध भएका छन् ।  उनले कर्णालीबाट २ हजार ६ सय ९५ जना मात्रै अनौपचारिक क्षेत्रका मजदुर तथा स्वरोजगार व्यक्ति कोषमा आबद्ध रहेको जनाए ।

‘यो अन्य प्रदेशको तुलनामा निकै कम हो । कोषमा आबद्ध गर्न तीनै तहका सरकार र रोजगारदातालाई बढी जिम्मेवार बन्नु पर्छ,’ उनले भने, ‘यसका वावजुद कोषको कार्यालय स्थापना नहुनु, रोजगारदाता, श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषका बारेमा थाहा नहुनु, स्थानीय तथा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्राथमिकता नदिनु जस्ता कारणले कोषमा आवद्ध हुनेको संख्यामा कम भएको हो ।’

उनले कर्णालीमा छिट्टै कार्यालय स्थापना गर्ने तयारी समेत रहेको जनाए । २०७७ साल मै कर्णालीमा कार्यालय स्थापना गर्ने तयारी गरिएपनि अर्थ मन्त्रालयबाट सहमति नपाएको उनको भनाइ थियो । कर्णालीबाट कोषमा २७ हजार ७ सय ५९ जना योगदानकर्ता छन् ।

कोषका अनुसार २६ लाख २९ हजार ४ सय २९ श्रमिक तथा स्वरोजगार व्यक्ति योगदानकर्ता छन्, जसमा ६ लाख ४६ हजार ६ सय ३७ जना स्वदेशमै काम गर्ने छन् भने, १९ लाख ८१ हजार ४ सय ९६ वैदेशिक रोजगारीमा छन् ।

७ सय ९८ अनौपचारिक र ५ सय ६७ जना स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । हालसम्म कोषको कुल रकम ९५ अर्ब पाँच करोड पुगेको छ भने, १७ अर्ब ५५ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ ।

नेपालमा श्रमशक्ति सर्वेक्षणअनुसार १५ वर्षमाथिका जनसंख्या मध्ये ३८.५ प्रतिशत श्रमशक्ति बजारमा छ । यी मध्य महिला २६.३, पुरुष ५३.८ प्रतिशत श्रमशक्ति छ । अन्तराष्ट्रिय श्रम संगठनका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने १८.०४ प्रतिशत गरिब छन्, भने औपचारिक क्षेत्रमा काम गर्ने २.९८ प्रतिशत गरिब छन् ।

अनौपचारिक क्षेत्र त्यसमा पनि कृषि क्षेत्रमा काम गर्ने ३७.८ प्रतिशत मजदुर गरिबीको रेखामुनि रहेका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार
Translate »