एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

पार्टीको ११औं महाधिवेशनको भर्खर सम्पन्न मत गणना अनुसार आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मत अन्तरले हराउँदै ओली विजयी भएका हुन् ।

ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी, महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १ हजार २ सय २८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९ सय ९९ मत पाएका हुन् । पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई, र भानुभक्त ढकाल रहेका छन् । सचिवमा केपी ओलीको प्यानल नै विजयी भएको हो ।

Translate »