कालिकोट जीप दुर्घटनामा तीन जनाको मृत्यु

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका–४, सल्लेरीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालिकोटको शुभकालिका–२ का नवराज शाही रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सेरी पान्तडी सडकको सल्लेरीको उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप दुर्घटना हुँदा सवार चार जना मध्य तीन जनाको मृत्यु भएको हो । मृत्तक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न मजदूरहरु रहेको प्रहरीको भनाइ छ ।

भीरबाट तीन वटै शव निकालेर पोस्टमार्टमका लागि कालिकोट सदरमुकाम लैजाने तयारी भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) केदार खनालले जानकारी दिए । गाडी सडकबाट ५ सय मिटर तल तिला नदीको किनारामा खसेको थियो ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनास्थलमा कालिकोटका प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, कालिकोटका प्रहरी प्रमुख (डीएसपी) हिमबहादुर खत्रीसँगै सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा जुटेको थियो ।

Translate »