कर्णालीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै तयारी पुरा


सुर्खेत । भोली (माघ ११) गते आईतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
भोली विहान ९ बजेदेखि बेलुकी ३ बजेसम्म हुने निर्वाचन अन्तर्गत मतदानका लागि सबै आवश्यक तयारी पूरा भएको सुर्खेत जिल्ला न्यायाधीस तथा निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशबाट (अन्य क्लष्टर र महिला खुला क्लष्टर) गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
उनले भोली हुने निर्वाचनमा नेपाली काँग्रेसका ललितजंग शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बुद्धिप्रसाद शर्मा (अन्य क्लष्टर) तथा नेकपा एमालेका मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अन्जु महतरा (महिला क्लष्टर) बाट उम्मेदवारी दिएको बताए ।

कर्णाली प्रदेश सभाका ४० जना सदस्य र १० जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ सय ५८ जना गरी कुल १ सय ९८ जना मतदाता रहेका छन् ।
मतभारको हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ३ हजार २ र प्रदेशसभा सदस्यको मतभार २ हजार १ सय २० गरी जम्मा ५ हजार १ सय २२ मतभार रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

