कर्णालीका सुर्खेत र सल्यान वन डढेलोको उच्च जोखिममा, जाजरकोट मध्यममा

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत र सल्यान वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षको विवरणका आधारमा कर्णालीका सुर्खेत र सल्यान जिल्लालाई वन डढेलोको उच्च जोखिमा रहेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार कर्णालीका सुर्खेत, सल्यानसहित बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, चितवन र पर्सा जिल्ला वन डढेलोको उच्च जोखिममा छन् । यस्तै, जाजरकोट, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् ।

प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी तथा वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको जनाएको छ । त्यस अन्तर्गत संघ, प्रदेश, तथा स्थानीय तह र सरोकारवाला वीच समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी एवं परिणाममुखी बनाउनु प्राधिकरणको मुख्य लक्ष्य हो ।

वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्न कार्ययोजना तय गरिएको प्राधिकरणको भनाइ छ । त्यसमा जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिम न्यूनिकरण बारे रणनीति तय गरिएको हो । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिने योजना प्राधिकरणले बनाएको छ ।

त्यस्तै मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति प्राधिकरणले तय गरेको हो । प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकाबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम तथा कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।

यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्दार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन एवं तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

Translate »