मूल्यवृद्धि अनुसारको लागत समायोजनको माग गर्दै निर्माण व्यवसायी महासंघ आन्दोलनमा,‘भोलिदेखि देशव्यापीरुपमा निर्माण ठप्प पारिने’

काठमाडौं । मूल्यवृद्धिअनुसार आयोजनाहरुमा लागत समायोजन गर्न माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनसहितको मूल्यवृद्धि हुँदा निर्माण क्षेत्रको लागत अस्वाभाविक रूपमा बढेको र यसले काम नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै महासंघले आन्दोलन थालेको हो । सरकारसँग पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको महासंघको गुनासो छ ।

आन्दोलनअन्तर्गत महासंघले बिहीवार सडक विभाग तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउने र सम्बन्धित विभागमा आधा घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार शुक्रबार र सोमबार सहरी विकास तथा भवन निर्माण विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकको कार्यालयमा पनि ज्ञापनपत्र बुझाइ धर्ना दिइनेछ ।

महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिनेछन् ।

त्यसैगरी जिल्ला संघहरूले शुक्रबार र सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन तथा सिँचाइ कार्यालयहरूमा पनि ज्ञापनपत्र बुझाएर धर्ना दिने कार्यक्रम रहेको घिमिरेले बताए ।

महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता मंगलबहादुर शाहीका अनुसार सातै प्रदेशका निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आधा घण्टा धर्ना दिनेछन् ।

महासचिव घिमिरेले आन्दोलनअन्तर्गत भोलिदेखि देशव्यापी रुपमा निर्माण कार्य ठप्प पारिने बताएका छन् । सरकारले माग सम्बोधन गरेमा भने आन्दोलन स्थगित गरिने उनको भनाइ छ ।

 

Translate »