सुर्खेतका एसपी शाहीको प्रहरी प्रधान कार्यालयमा सरुवा


वीरेन्द्रनगर । सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार शाहीसँगै ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको एकैसाथ सरुवा गरेको हो । कार्यालयले एसपी शाहीलाई सुर्खेतबाट प्रहरी प्रधान कार्यालय युएन शाखा नक्साल काठमाडौं सरुवा गरेको छ ।

कर्णाली प्रदेशका दश जिल्लाका प्रहरी प्रमुख मध्य उत्कृष्ट अंकका साथ प्रथम स्थान हासिल गरेका एसपी शाहीको व्यावसायिकता, कार्यदक्षता र कुशल नेतृत्वको उच्च मूल्याङ्कन हुँदै आएको थियो । उनलाई ७० औं प्रहरी दिवसको अवसरमा तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) माधवप्रसाद श्रेष्ठज्यूले प्रशंसा–पत्र प्रदान गरेका थिए ।
एक वर्ष बढी सुर्खेत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी शाहीले उच्च मनोवलका साथ व्यवसायिक कार्यकुलता देखाउँदै प्रहरी संगठनप्रति आम नागरिकको जनविश्वास बढाउन सफलता हात पारे ।
अब उनको स्थानमा लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेबाट (एसपी) ठाकुरप्रसाद पोखरेललाई सरुवा गरिएको छ । एसपी पोखरेलले अब सुर्खेतको नयाँ प्रहरी प्रमुखको रुपमा जिम्मेवारी लिने छन् ।

