सरकार ढाल्ने र बनाउने कुनै पनि खेलमा नेकपा छैन् : संयोजक प्रचण्ड


सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी प्रदेश सरकार भत्काउने र बनाउने खेलमा नरहेको बताएका छन् ।
आज प्रेस सेन्टर नेपालले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले आफूहरु अहिले सरकार ढाल्ने र बनाउने कुनै पनि खेलमा नरहेको स्पष्ट पारेका हुन् । अहिलेपनि नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव आईरहेको बताउँदै उनले यतिबेला यो वा त्यो पार्टीसँग मिलेर सरकार बनाउँदा जनतामा नकारात्मक संदेश गएर भ्रम सृजना हुने सक्ने आशंका व्यक्त गरे ।
यदी प्रदेश सरकारमा नयाँपन नै ल्याउने हो भने नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्र्टी र मधेश केन्द्रित दलहरु समेत मिलेर साझा सरकार बनाउन आफ्नो पार्टी तयार रहेको उनको भनाइ थियो । उनले लोकतन्त्र, गणतन्त्रका पक्षधर, शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्तिहरु एक ठाउँमा उभिँदा जनतालाई राहत हुने हुँदा सरकारपनि तुलनात्मकरुपले राम्रोसँग चल्न सक्ने भएकाले सर्वदलिय सरकार बनाउन उपयुक्त हुने बताए ।

संयोजक प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरणका लागि छलफल चलिरहेको बताउँदै चुनावपछि बामपन्थी आन्दोलनले ठूलो धक्का खाएकाले अब सहकार्य र एकताका लागि सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुको विकल्प नरहेको जिकिर गरे ।
पत्रकारहरुले सोधेको एक अर्को प्रशंङ्गमा संयोजक प्रचण्डले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट संघीय सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्न समेत सकिने जनाए ।
तर, सरकारको पछिल्लो हर्कतले विरोध र प्रतिवादका लागि जनस्तरबाटै आवाज उठाउनु पर्ने देखिएको उनको भनाइ थियो । दुई तिहाई नजिकको सरकारले संसद्लाई छलेर अध्यादेशको बाटोमा जानु लाज मर्दो कुरा भएको बताए ।

