पोषणमैत्री पालिका

स्वस्थ जनशक्ति नै कुनै पनि राष्ट्रको वास्तविक पुँजी हो । शारीरिक तथा बौद्धिक विकासका लागि गर्भावस्थादेखि नै सन्तुलित पोषणको आवश्यकता पर्दछ । तर, मुलुकका कतिपय ग्रामीण तथा सहरी क्षेत्रमा अझै पनि बालबालिका र गर्भवती महिलाहरु कुपोषणको चपेटामा पर्नु चिन्ताको विषय हो । यस गम्भीर समस्याको दीर्घकालीन समाधानका लागि अघि सारिएको ’पोषणमैत्री पालिका’ को अवधारणा आजको आवश्यकता बनेको छ । सरकारले बहुक्षेत्रीय पोषण योजनामार्फत कुपोषण न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । यसको सफल कार्यान्वयन स्थानीय तहबाटै सम्भव छ । स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी तथा सरसफाइ र शिक्षा जस्ता क्षेत्रहरुबीचको समन्वयबाट मात्रै एउटा पालिकालाई पूर्ण रुपमा पोषणमैत्री घोषणा गर्न सकिन्छ । ढिलैभएपनि कर्णाली प्रदेशका स्थानीय पालिकाहरुले पोषणमैत्री पालिका बनाउन नीतिगत कार्ययोजना अघि बढाएका छन् ।  सुर्खेेतको बराहताल गाउँपालिकाले पनि ‘पोषणमैत्री पालिका’ बनाउन नीतिगत छलफल शुरु गरेको सुखद खबर छ । कुपोषण न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य सुधार र बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय कानुन र कार्यविधि निर्माण गर्ने प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष हो ।

पोषणमैत्री स्थानीय तह घोषणाका लागि आगामी बजेट तथा कार्यक्रमम मार्फत सम्बोधन गर्न र त्यसको प्रभावकारी कार्यान्वयनमा नीतिगत खाका बनाएर जादा राम्रो हुन्छ । किनभने ! पोषणमैत्री स्थानीय शासन लागू गर्न तोकिएका करिब ७६ वटा सूचकहरु, जस्तैः संस्थागत व्यवस्था, सेवा प्रवाह, पोषण अवस्था पूरा गर्ने रणनीतिक योजना बनाईएका छन् ।  कार्यपालिकाबाट ‘पोषणमैत्री स्थानीय शासन वडा तथा पालिका घोषणा कार्यविधि’ पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्ने नियम छ । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार गर्दै सन् २०८७ सम्ममा पालिकालाई पोषणमैत्री बनाउने सरकारी लक्ष्य छ । बालबालिका, गर्भवती, सुत्केरी महिला र आम नागरिकको पोषण अवस्थामा सुधार ल्याई कुपोषणमुक्त समाज निर्माण गर्नु मुख्य उद्देश्य हो ।  खानपान, स्वास्थ्य सेवा, सरसफाइ र कृषि जस्ता बहुपक्षीय क्षेत्रलाई समेटेर सम्पूर्ण व्यक्तिको शारीरिक एवं मानसिक विकासमा सकारात्मक योगदान पु¥याउँने दिर्घकालिन रणनीति बनाईनु पर्छ ।

पोषणमैत्री स्थानीय शासन व्यवस्था सञ्चालनका लागि स्वास्थ्य, सरसफाइ, स्वच्छ खानेपानी, कृषि, र शिक्षा लगायतका क्षेत्रहरुबीच समन्वय गरिनु पर्छ । वडाहरुले तोकिएका सूचकहरु (जस्तैः पूर्ण स्तनपान, खोपको अवस्था, कुपोषणको उपचार) पूरा गर्नु पर्ने हुन्छ । त्यस्तै स्वास्थ्य संस्थाहरुले पोषणसम्बन्धी गुणस्तरीय सेवा प्रवाह गर्ने, आमा र बच्चाको वृद्धि अनुगमन गर्ने तथा कुपोषण पत्ता लगाई उपचार गर्ने व्यवस्था मिलाउनु पर्छ । नागरिकको पोषणस्तर उकास्दै पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्याहरुको न्यूनीकरण गर्नु यसको अर्को उद्देश्य हो । कार्यक्रममा बजेट तथा कार्ययोजना निर्माणका विषयमा समूहगत छलफलमा विशेषगरी गर्भवती तथा सुत्केरी सेवा, खोप सेवा, अनुगमन, कृषि उत्पादन बृद्धि, रैथानी बाली संरक्षण, पशुपंक्षीको विकास, विद्यालय भर्नादर, सरसफाइ तथा खानेपानी लगायतका विषयमा केन्द्रीत गरिने छन् । पोषणमैत्री पालिकाको अवधारणा स्वस्थ, सबल र सुशिक्षित नागरिक निर्माणका लागि स्थानीय तहबाट थालिएको एक महत्वपूर्ण कदम हो । यो अभियानले कुपोषण न्यूनीकरण गर्न, मातृ तथा बाल स्वास्थ्य सुधार गर्न र दिगो विकास लक्ष्य प्राप्त गर्न स्वास्थ्य, कृषि, र सरसफाइको एकीकृत प्रयासलाई जोड दिनेछ ।

Translate »