भेरीगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


सुर्खेत । भेरीगंगा नगरपालिकाले सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम विहीबार सम्पन्न गरेको छ । भेरीगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका विकास निर्माणका योजना, सेवा प्रवाह तथा बजेट कार्यान्वयन सम्बन्धी गतिविधिहरुको समीक्षा गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजनिक सुनाइ कार्यक्रममा सेवाग्राहीले भेरीगंगा नगरपालिका विकास उन्मुख रहेपनि शिक्षा, स्वास्थ्य, खानेपानीको सहज आपूर्ति र फोहोरमैलाको दिर्घकालीन व्यवस्थापन हुन नसकेको बताएका छन् । उनीहरुले युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनीको समस्या न्यूनीकरण र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिन आग्रह गरे ।
त्यस्तै खोला खोल्सी नालाहरुको उचित व्यवस्थापन हुन नसकेको गुनासो सेवाग्राहीहरुले व्यक्त गरेका छन् । अबैध ढुङगा, गिट्टी, बालुवा उत्खनन रोक्नुपर्ने, कृषि पशुपालन, वीउविजन र मलखाद वितरणमा सहज बनाईनुपर्ने, शैक्षिक गुणस्तरमा सुधारका लागि शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, विद्युतीकरण र विपद् व्यवस्थापनका लागि पूर्व तयारी गर्नुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, बेरुजु घटाउनु पर्ने लगायतका सुझावहरु सेवाग्राहीले दिएका छन् ।

त्यस्तै सेवाग्राहीहरुले नगरपालिकामा छिटो छरितो रुपबाट अझै पनि सेवा लिन नसकेको गुनासो गरेका छन् । नगरपालिकाले सेवा प्रवाह, योजना तथा कार्यक्रमहरुलाई पारदर्शी बनाउन नियमित रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
उनले नागरिकप्रति जवाफदेहिता, पारदर्शिता र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने गरेको बताए । विभिन्न क्षेत्रमा भएका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा आगामी दिनका प्राथमिकताबारे स्थानीयलाई जानकारी गराउनुका साथै गुनासा, जिज्ञासा र सुझावहरु संकलन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
‘उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको आवश्यकता सम्बोधन गर्न विभिन्न क्षेत्रमा कामलाई तीव्रता दिईएको छ,’ उनले भने, ‘आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्यका साथ काम गर्दै ‘सुखी भेरीगंगा, समृद्ध भेरीगंगा’ बनाउन सबै जुटौं ।’
उनले सेवा प्रवाहमा थप सुधार, विकास योजनाको प्रभावकारी कार्यान्वयन, नागरिक सहभागिता अभिवृद्धि, प्राथमिकताका आधारमा योजना छनोट, सुशासन तथा पारदर्शिता प्रवद्र्धनलाई जोड दिने प्रतिवद्धता जनाए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगंगालाई समृद्ध भेरीगंगा र बस्नयोग्य भेरीगंगा बनाउनका लागि आफूहरुले योजनाबद्ध काम अघि बढाएको दाबी गरे ।

समानता, स्वाभिमान र समान अवसर वितरणका लागि आफुहरुले सक्दो प्रयास गरिरेर बताउँदै उनले नीति तथा योजना र त्यही अनुसारको बजेट ल्याउने बताए । ‘विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समावेश गर्ने छौं ।’
भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहराले भेरीगंगाका बासिन्दाको समृद्धिका लागि आफुहरु नीतिगत तरिकाले अघि बढेको बताईन् । उनले शिक्षा, स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै महिलाको उन्नयन तथा विकासका लागि योजनाबद्ध पहल भईरहेको जनाईन् ।

‘सीमित स्रोतसाधनका बाबजुद नगरको समग्र विकासका लागि विभिन्न क्षेत्रमा काम भइरहेका छन्, पूर्वाधार निर्माणका कार्यहरुमा पारदर्शिता, गुणस्तर र जनसहभागितालाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, कृषि, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा भएका गतिविधिहरु, विनियोजित बजेटको अवस्था तथा खर्चको प्रगति सार्वजनिक गरिएका छन् ।’

उनले सार्वजनिक सुनुवाई कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरिन् ।
सार्वजनिक सुनाइ कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु सुरक्षा क्षेत्रका प्रतिनिधि वडा अध्यक्ष, जनप्रतिनिधि टोल विकास समितिका अध्यक्ष, युवा क्लव, सर्वसाधारण नागरिकहरुको तथा नगरपालिकाका शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नागरिक र स्थानीय सरकारबीच प्रत्यक्ष सम्वाद भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले नागरिकका जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष रुपमा सुन्ने अवसर पाएका थिए ।
कार्यक्रममा सार्वजनिक सुनवाईका लागि तयार पारिएको प्रतिवेदन भेरीगंगा सञ्चार केन्द्र (रेडियो भेरीगंगा) छिन्चुका अध्यक्ष यामलाल कँडेलले प्रस्तुत गरेका हुन भने पत्रकार आकाशतारा बयकले कार्यक्रम सञ्चालन गरेका थिए ।





