भोलीदेखि सुर्खेतमा ‘कर्णाली कप, २०८३’ टी–२० प्रतियोगिता हुँदै


सुर्खेत । कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘कर्णाली कप, २०८३’ टी–२० प्रतियोगिता सुरु हुने भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगितामा कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ । प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान, जाजरकोट र मुगु जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले बताएका छन् ।
प्रतियोगिता पूर्व शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् प्रदेश सचिव श्रीधर केसीले प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता असार १८ गतेसम्म सञ्चालन हुने जानकारी दिए । ‘कालुन्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा दैनिक चार वटा म्याच हुनेछन्,’ उनले भने, ‘आइतबारदेखि सुरु हुने प्रतियोगिता १८ गते सम्पन्न हुनेछ ।’

उनले मुगु जिल्ला पहिलोपटक प्रतियोगितामा सहभागि भएको जानकारी दिए । पत्रकार सम्मेलनमा सचिव केसीले विजेता टोलीले १ लाख १ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार नगद र ट्रफी प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर र बेष्ट ब्याट्समेनले नगद पाँच–पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफ दि सिरिज हुनेले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ ।
उनले प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ हुने खेलाडीले नगद दुई हजार र ट्रफी प्राप्त गर्नेछन् । उनले कर्णालीमा क्रिकेटको पहुँच विस्तार गर्दै हरेक जिल्लामा खेल गतिविधि बनाउन तथा खेलाडीहरु उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
‘क्रिकेटप्रति पछिल्लो समय आकर्षण बढ्दो क्रममा छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले क्रिकेट खेलको गतिविधि बढ्नुका साथै खेलाडी उत्पादन र पहिचानमा सघाउ पु¥याउँछ ।’

